• Wednesday 7th of October 2026

उजुरी परेपछि रास्वपाद्वारा अधिवेशन स्थगित


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र मधेस प्रदेशका विभिन्न स्थानीय तह तथा वडामा सञ्चालन हुँदै आएका पार्टीका आन्तरिक निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगको मंगलबार बसेको बैठकले विवाद देखिएको र उजुरीहरू प्राप्त भएकाले ती क्षेत्रका निर्वाचन प्रक्रिया छानबिन पूरा नभएसम्मका लागि रोक्ने निर्णय गरेको हो ।

आयोगका प्रमुख भुवन केसीद्वारा जारी पत्रअनुसार बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका तथा अन्य विवादित स्थानीय तह र वडा, साथै मधेस प्रदेशका सप्तरी, सिराहा, महोत्तरी, धनुषा र सर्लाही जिल्लाका केही स्थानीय तह प्रभावित भएका छन् ।

महोत्तरीका जलेश्वर नगरपालिका, एकडारा गाउँपालिका, मतिहानी नगरपालिका, मनरा शिसवा नगरपालिका, पिपरा गाउँपालिका लगायतका क्षेत्रहरूमा पनि विवाद देखिएको आयोगले जनाएको छ । त्यस्तै धनुषाका जनकपुर उपमहानगरपालिका, जनकनन्दिनी गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका र सर्लाहीको हरिपूर्वा नगरपालिका क्षेत्रमा पनि प्रक्रिया स्थगित गरिएको छ ।

आयोगले विवाद समाधान भएपछि मात्र ती क्षेत्रमा निर्वाचन प्रक्रिया पुनः सुरु गरिने स्पष्ट पारेको छ । साथै, स्थगित क्षेत्रहरूमा आयोगको निर्देशनविपरीत कुनै गतिविधि गरेमा त्यसलाई आधिकारिक मान्यता नदिइने चेतावनी पनि दिइएको छ ।

अन्य क्षेत्रमा भने निर्वाचन प्रक्रिया नियमित रूपमा अघि बढ्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖