वीरगन्ज ।मेयर राजेशमान सिंहलाई जिल्ला अदालत पर्साले धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले मंगलबार उनलाई कुल ४ लाख १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला अदालत पर्साका स्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लिखत सम्बन्धी कसुरमा ४ लाख रुपैयाँ र झुटा विवरण पेस गरी नागरिकता बनाएको आरोपमा थप १५ हजार रुपैयाँ धरौटी तोकेको हो ।
लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह अदालतमा उपस्थित भएका थिए। तर त्यसपछि उनी फरार रहेको अवस्थामा पर्सा जिल्लाको ठोरीबाट प्रहरीले पक्राउ गरेको थियो ।
अदालतको आदेशपछि तोकिएको धरौटी बुझाएमा उनलाई रिहा गरिने प्रक्रिया अघि बढ्ने बताइएको छ।
