काठमाडौं, जेठ २२ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका छन्। बिहीबार भएको दुर्घटनामा उनी घाइते भएको जानकारी पार्टीका नेता सुदन किरातीले दिएका हुन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै किरातीले साम्पाङ दुर्घटनामा परेको खबरले आफू लगायत पार्टी पंक्तिलाई चिन्तित बनाएको बताएका छन्। यद्यपि, साम्पाङलाई सामान्य चोटपटक मात्र लागेको र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनले उल्लेख गरेका छन्।
किरातीका अनुसार साम्पाङ हाल सामान्य अवस्थामा रहेका छन् र छिट्टै नियमित दैनिकीमा फर्किनेछन्। उनले पार्टीका कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई अत्यधिक चिन्ता नगर्न आग्रह गरेका छन्।
‘हाम्रो श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो। तर सामान्य चोटपटक मात्र भएकोले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र उहाँ आफ्नो दैनिकीमा सदाझैँ सक्रिय हुनुहुन्छ,’ किरातीले लेखेका छन्।
उनले अध्यक्ष साम्पाङको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पार्टी पंक्ति तथा शुभेच्छुकहरूलाई धैर्य गर्न अनुरोध गरेका छन्।
