• Sunday 4th of October 2026

देशको नेतृत्व गर्ने ब्यक्ति परिपक्व हुनुपर्छ :राजेश हमाल


  • धनकुटा खबर
  • .

काठमाडौ । वरिष्ठ अभिनेता राजेश हमाल ले नेपालको सीमा विवादसम्बन्धी बहसमा ‘सीमा पार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’लाई एउटै रूपमा बुझ्ने प्रवृत्ति गलत भएको बताएका छन्। उनले यी दुई विषयको प्रकृति, कारण र प्रभाव पूर्ण रूपमा फरक रहेको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले सीमा अतिक्रमणका विभिन्न आयामबारे टिप्पणी गरेका हुन्। उनका अनुसार सीमा पार हुने अतिक्रमण प्रायः स्थानीय नागरिक, भौगोलिक अवस्था र ऐतिहासिक परिस्थितिसँग जोडिएको विषय हो।

नेपाल–भारत खुला सीमाका कारण दुवै देशका नागरिकबीच दशकौँदेखि व्यापार, खेतीपाती, आवतजावत तथा सामाजिक सम्बन्ध कायम रहँदै आएको उल्लेख गर्दै उनले नदीले धार परिवर्तन गर्दा, सीमा स्तम्भ हराउँदा वा क्षतिग्रस्त हुँदा तथा बस्ती विस्तारका कारण यस्ता समस्या देखिने बताए।

हमालका अनुसार यस्ता घटनाहरू कुनै राज्यको रणनीतिक विस्तारको हिस्सा नभई स्थानीय तथा प्रशासनिक प्रकृतिका समस्या हुन्। उनले यस्ता विवादलाई संवाद, संयुक्त सर्वेक्षण तथा आपसी सहकार्यबाट समाधान गर्न सकिने धारणा व्यक्त गरेका छन्।

तर राज्य–प्रायोजित भू–अतिक्रमण भने फरक प्रकृतिको विषय भएको उनको भनाइ छ। कुनै राष्ट्रले विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न वा कायम राख्न प्रत्यक्ष रूपमा सक्रिय भूमिका खेलेमा त्यसलाई राज्य–प्रायोजित अतिक्रमण मान्नुपर्ने उनले बताएका छन्।

“यसमा व्यक्ति होइन, राज्यका संस्थाहरू नै संलग्न हुन्छन्,” हमालले उल्लेख गरेका छन्। उनका अनुसार यस्तो अवस्थामा सडक निर्माण, प्रशासनिक संरचना विस्तार, सुरक्षा निकाय परिचालन, सरकारी नक्सा संशोधन तथा राज्यको अधिकार औपचारिक रूपमा लागू गर्ने कामहरू गरिन्छन्।

उनले नेपालको कालापानी,लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई राज्य–प्रायोजित भू–अतिक्रमणको उदाहरणका रूपमा उल्लेख गरेका छन्।

सीमा विवादको विषयबाट अघि बढ्दै हमालले राष्ट्रको नेतृत्व क्षमतामाथि पनि टिप्पणी गरेका छन्। वर्तमान विश्व राजनीतिक अवस्था अस्थिर र अनिश्चित बन्दै गएको उल्लेख गर्दै उनले यस्तो समयमा देशको नेतृत्व गर्ने व्यक्तिमा परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि आवश्यक हुने बताएका छन्।

उनले सक्षम नेतृत्वको अभावमा राष्ट्रले जटिल चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने भन्दै समयको संवेदनशीलतालाई बुझेर राष्ट्रिय हितको रक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖