• Tuesday 6th of October 2026

बढ्यो एलपी ग्यासको मूल्य !


  • धनकुटा खबर
  • .

काठमाडौ । भारतमा घरेलु प्रयोगको एलपी ग्यास सिलिन्डरको मूल्य प्रति सिलिन्डर २९ भारतीय रुपैयाँले वृद्धि भएसँगै नेपालमा पनि त्यसको प्रत्यक्ष असर पर्न सक्ने संकेत देखिएको छ।

आइतबारदेखि लागू भएको नयाँ मूल्य अनुसार भारतको राजधानी नयाँदिल्लीमा १४.२ किलोग्राम क्षमताको घरेलु ग्यास सिलिन्डरको मूल्य ९१३ भारतीय रुपैयाँबाट बढेर ९४२ भारतीय रुपैयाँ पुगेको छ।

यसअघि गत मार्च ७ मा पनि अन्तर्राष्ट्रिय ऊर्जा बजारको उतारचढाव र आपूर्ति शृंखलामा आएको अवरोधका कारण भारतमा प्रति सिलिन्डर ५० रुपैयाँले मूल्य बढाइएको थियो।

नेपालले आफ्नो सम्पूर्ण एलपी ग्यास भारतबाटै आयात गर्ने भएकाले त्यहाँ भएको यो मूल्यवृद्धिले नेपाली बजारमा समेत मूल्य समायोजनको दबाब बढाएको हो।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा मासिक रूपमा ग्यासको मूल्य समायोजन गर्दै आएको छ।

भारतमा मूल्य बढेसँगै आगामी मूल्यसूचीमा नेपालले आयात गर्ने ग्यासको लागत पनि बढ्न सक्ने र स्वचालित रूपमा नेपाली बजारमा मूल्य बढ्न सक्ने सम्भावना बलियो बनेको छ।

यद्यपि, नेपालमा मूल्य बढ्ने वा नबढ्ने विषय भने आईओसीले पठाउने नयाँ मूल्यसूची, ढुवानी लागत, अमेरिकी डलरको विनिमय दर र निगमको समग्र नाफा-नोक्सानको अवस्थामा निर्भर रहनेछ।

ऊर्जा विज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य उच्च रहँदा नेपाल आयल निगममाथि वित्तीय भार थपिनेछ र निगमले घाटा व्यवस्थापन गर्न नसकेमा उपभोक्ताले मूल्यवृद्धिको मार भोग्नुपर्ने अवस्था आउन सक्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖