• Tuesday 6th of October 2026

‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’:सुधन गुरुङ


  • धनकुटा खबर
  • .

गोरखा, जेठ २४ — पूर्वगृहमन्त्री सुधन गुरुङ ले आफूमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी रहेको बताएका छन्।

आइतबार गृहजिल्ला गोरखामा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले आफ्नो सम्पत्तिको विषयमा प्रश्न उठेपछि निष्पक्ष छानबिनका लागि सहयोग पुर्‍याउन आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको बताए।

“छानबिन सकिएको छ, सफाइ पाउनेमा आशावादी छु,” उनले भने। आफू निर्दोष रहेको दाबी गर्दै गुरुङले भविष्यमा पुनः गृह मन्त्रालयको नेतृत्व सम्हाल्न सक्ने संकेतसमेत गरेका छन्।

उनले सफाइ पाएर फेरि गृहमन्त्री बनेमा पार्टीका नेता–कार्यकर्तालाई सुरुका दुई महिनासम्म मन्त्रालयमा बधाई दिन वा तस्बिर खिच्न नआउन आग्रह गरे। “यदि म पुनः गृहमन्त्री बनेँ भने तस्बिर खिच्न र मन्त्रालयमा बधाई दिन नआउनुहोला,” उनले भने।

गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइसकेको छ। मन्त्रिपरिषद्ले वैशाख २८ गते अच्युतप्रसाद भण्डारी को नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट सँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद प्रकरणबारे समितिले अनुसन्धान गरेको हो। गुरुङले भट्टसँग सम्बन्धित कम्पनीमा करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको विषय सार्वजनिक भएपछि रकमको स्रोतबारे प्रश्न उठेको थियो। त्यसपछि उनले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖