काठमाडौँ । प्रतिनिधि सभा सदस्य हर्कराज राई लाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक नियम उल्लङ्घन गर्दै सवारी चलाएको आरोपमा उनलाई कानुनी कारबाही गरिएको हो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीले सोमबार राईलाई कारबाही गरेको जनाएको छ। कार्यालयका प्रहरी उपरीक्षक दीपक गिरी का अनुसार लापरबाहीपूर्वक सवारी चलाएको कसुरमा उनीमाथि कारबाही गरिएको हो।
प्रहरीका अनुसार गत जेठ २२ गते बेलका मा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा राईले मोबाइल फोनमा भिडियो बनाउँदै सवारी चलाएको देखिएको थियो। उक्त गतिविधि ट्राफिक नियमविपरीत भएको भन्दै प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
