काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरूले सभामुखको अनुमति बिना मौनधारण गरेपछि संसद्मा नयाँ बहस सुरु भएको छ।
बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद निष्कल राईले शहीदहरूको सम्झनामा पाँच मिनेट मौनधारण गर्न आह्वान गरेका थिए। उनको आह्वानलगत्तै विपक्षी दलका अन्य सांसदहरू पनि आफ्नो आसनबाट उठेर मौनधारणमा सहभागी भएका थिए।
सभामुख डीपी अर्यालले कार्यसूची र अनुमति बिना गरिएको उक्त मौनधारणप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनले संसद् सञ्चालनका स्थापित नियम, प्रक्रिया र परम्पराविपरीत गरिएको यस्तो कदमले सदनको मर्यादा र गरिमामा प्रश्न उठाएको टिप्पणी गरे।
सभामुख अर्यालले संसद्का सबै गतिविधि कार्यसूची र सभाध्यक्षको निर्देशनअनुसार सञ्चालन हुनुपर्ने उल्लेख गर्दै सांसदहरूले स्वेच्छाले समय निर्धारण गरी मौनधारण गर्दा संसदीय कार्यव्यवस्थामा अवरोध सिर्जना भएको बताए।
घटनापछि संसद्मा संसदीय प्रक्रिया, मर्यादा र सांसदहरूको भूमिकाबारे थप चर्चा सुरु भएको छ।
