• Tuesday 6th of October 2026

प्रधानमन्त्रीप्रति हर्क साम्पाङको कटाक्ष : ‘बोलाउँदा आउँदिन भन्नुहुन्छ, बोकेर ल्याउने चलन छैन’


  • धनकुटा खबर
  • .

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहप्रति कटाक्ष गर्दै संसद्को बैठकमा बोलाउँदा पनि उपस्थित नहुने गरेको टिप्पणी गरेका छन्।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउनुपर्ने माग भइरहे पनि त्यसका लागि जबर्जस्ती गर्न नसकिने भन्दै व्यङ्ग्य गरे।

“प्रधानमन्त्रीलाई बोलाको बोलाकै गर्ने, उहाँ आउँदिन भन्नुहुन्छ। पक्रेर लिएर बोकेर ल्याउने चलन छैन,” साम्पाङले भने।

संसद्मा देखिएको वर्तमान अवरोध र गतिरोध अन्त्यका लागि उनले सङ्कल्प प्रस्तावसमेत पेश गरेका छन्। उनले सभामुखको आग्रहसमेत प्रधानमन्त्रीले बेवास्ता गर्ने गरेको दाबी गर्दै संसद्को प्रभावकारिता कायम गर्न विशेष पहल आवश्यक रहेको बताए।

“सभामुखज्यूले ‘ल आउनुपर्छ’ भन्दा पनि उहाँ मान्नुहुन्न। कहिलेकाहीँ आउनुहुन्छ, आएर फेरि के बोल्नुहुन्छ, त्यसले झन् समस्या सिर्जना हुन्छ। त्यसैले म आज एउटा सङ्कल्प प्रस्ताव पेश गर्न चाहन्छु,” उनले भने।

साम्पाङले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८४ (१) को (ग) अनुसार संसद्को वर्तमान गतिरोध समाधानका लागि विषयगत सङ्कल्प प्रस्ताव पारित गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच विवाद चर्किरहेका बेला साम्पाङको उक्त अभिव्यक्ति संसद्मा चर्चाको विषय बनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖