• Tuesday 6th of October 2026

नारायणहिटी राजदरबार हत्याकाण्डको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने गृहमन्त्री गुरुङको निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेलगत्तै इतिहासकै बहुचर्चित र रहस्यमय मानिएको ‘नारायणहिटी राजदरबार हत्याकाण्ड’को पुनः छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गर्ने पहिलो निर्णय गरेका छन्।

मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएर गृह मन्त्रालय पुगेका मन्त्री गुरुङले मुलुकको राजनीतिक इतिहासलाई दूरगामी असर पारेको उक्त घटनाको सत्यतथ्य जनसमक्ष ल्याउन भन्दै सो निर्णयमा हस्ताक्षर गरेका हुन्।

मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री गुरुङले विगत लामो समयदेखि नेपाली जनताले दरबार हत्याकाण्डको निष्पक्ष र विस्तृत छानबिनको माग गरिरहेको उल्लेख गरे।

उनले भने, ‘विगतका अनुसन्धान र प्रतिवेदनहरूले जनताको आशंकालाई पूर्ण रूपमा निवारण गर्न सकेका छैनन्, त्यसैले सरकारले सुशासन र पारदर्शिताको प्रत्याभूति दिलाउन यो ऐतिहासिक कदम चालेको हो।’ उक्त उच्चस्तरीय छानबिन समितिमा पूर्वप्रधानन्यायाधीश, सुरक्षा निकायका पूर्वप्रमुखहरू र फरेन्सिक विज्ञहरू समावेश गरिने मन्त्रालय स्रोतले जनाएको छ। समितिलाई निश्चित समयावधिभित्र प्रतिवेदन बुझाउने गरी कार्यशर्त (टीओआर) तोकिने तयारी भइरहेको छ।

विगतमा सम्पत्ति विवरणसम्बन्धी विवादका कारण राजीनामा दिनुभएका गुरुङ छानबिन समितिबाट क्लिन चिट पाएपछि पुनः गृह मन्त्रालयको कमान्ड सम्हाल्न आइपुगेका हुन्। मन्त्रालय फर्किएकै दिन उनले चालेको यो अप्रत्याशित र आक्रामक कदमलाई राजनीतिक वृत्तमा निकै चासो र महत्त्वका साथ हेरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖