सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशन सभापति पदको निर्वाचनपछि विवादमा परेको छ। सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित भएको घोषणा भइसकेपछि मतगणनामा १२ मत बढी देखिएको भन्दै छानबिनको माग उठेको हो।
सभापति पदका लागि बखतबहादुर भण्डारी, प्रकाश बुढा, विनीबहादुर शाही र मित्रराज प्याकुरेल प्रतिस्पर्धामा उत्रिएका थिए। सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि आइतबार साँझ मतदान गरिएको थियो।
सभापतिका प्रत्याशी प्रकाश बुढाका अनुसार निर्वाचन समितिले कुल २४० मत खसेको जानकारी दिएको थियो। त्यसमध्ये ६ मत बदर भएको भनिएकाले वैध मत २३४ हुनुपर्ने उनको दाबी छ।
तर सार्वजनिक नतिजाअनुसार निर्वाचित भण्डारीले ९३ मत, प्रकाश बुढाले ६९ मत, विनीबहादुर शाहीले ४३ मत र मित्रराज प्याकुरेलले ४१ मत प्राप्त गरेका छन्। यी सबै मत जोड्दा २४६ पुग्ने भएकाले खसेको मतभन्दा १२ मत बढी देखिएको बुढाको भनाइ छ।
निर्वाचन प्रक्रियामा गम्भीर त्रुटि भएको आशंका व्यक्त गर्दै बुढाले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। “निर्वाचनमा भएको अपारदर्शी र गैरजिम्मेवार कार्यको छानबिन हुन जरुरी छ,” उनले भने। प्रमाण सुरक्षित राख्नका लागि जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको समेत उनले जानकारी दिए।
जिल्ला अधिवेशनका लागि अधिवक्ता लोकेन्द्र शाहीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। यस विषयमा प्रतिक्रिया दिँदै शाहीले निर्वाचन सम्पन्न गरी सबै कागजात पार्टी कार्यालयमा बुझाइसकेको बताए। उनले निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको दाबी गरे पनि मत संख्या बढी देखिएको विषयमा भने स्पष्ट जवाफ दिएनन्।
मतगणनामा देखिएको असमानताले निर्वाचन समितिको पारदर्शिता र नतिजाको विश्वसनीयतामाथि प्रश्न उठाएको छ।
