• Tuesday 6th of October 2026

अन्तत हर्क साम्पाङले माफी मागे


  • धनकुटा खबर
  • .

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको घटनाप्रति क्षमायाचना गरेका छन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्टीकरण दिएका थिए। उनले प्रधानमन्त्रीको भनाइ दशगजा क्षेत्रमा भएको अतिक्रमण तथा ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित रहेको बताएका थिए।

परराष्ट्रमन्त्रीको स्पष्टीकरणपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदहरूलाई धारणा राख्न समय दिएका थिए। सो क्रममा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेकपाका सांसद प्रमेश हमाल तथा राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले रोस्ट्रम प्रयोग गर्दै आफ्नो भनाइ राखेका थिए।

यसबीच श्रम संस्कृति पार्टीले पनि बोल्न समय मागेको दाबी गरेको थियो। तर सभामुख अर्यालले उक्त पार्टीका तर्फबाट समय माग नगरिएको र वक्ताको नामसमेत टिपोट नभएकाले बोल्न समय नदिइएको जानकारी गराए।

सभामुखको उक्त भनाइपछि अध्यक्ष साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदहरू रोस्ट्रम अगाडि पुगेर नाराबाजीमा उत्रिएका थिए। नाराबाजीका बीच सभामुखले बैठक सञ्चालन जारी राखेका थिए। पछि सांसदहरूको विरोध निरन्तर रहेपछि सभामुखले बोल्न समय उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आफ्नो स्थानमा फर्किन आग्रह गरेका थिए।

त्यसपछि श्रम संस्कृति पार्टीका तर्फबाट बोल्ने सांसदको नाम टिपोट गरिएपछि अध्यक्ष साम्पाङले संसद्मा आफ्नो धारणा राखेका थिए। उनले प्रधानमन्त्री शाह स्वयं संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै त्यसका लागि सभामुखलाई रुलिङ गर्न आग्रह गरे।

आफ्नो मन्तव्यको अन्त्यमा साम्पाङले संसद्को कार्यवाहीमा अवरोध पुगेकोप्रति क्षमा मागे। उनले श्रम संस्कृति पार्टीका कारण बैठक सञ्चालनमा केही असहजता सिर्जना भएको स्वीकार गर्दै त्यसका लागि माफी मागेका हुन्।

साम्पाङले संसद्को गरिमा र मर्यादा कायम राख्न सबै दल तथा सांसदले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए। संसद्को प्रतिष्ठा जोगाउने विषयमा आफ्नो पार्टी प्रतिबद्ध रहेको उनको भनाइ थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖