• Monday 5th of October 2026

जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी


  • धनकुटा खबर
  • .

डालास । रुसमा भएको सन् २०१८ को विश्वकपमा क्रोएसिया र इंग्ल्याण्डबिचको सेमिफाइनल भिडन्तअघि, ज्लाट्को डालिचको उमेर ढल्किएको टोलीले आफ्ना अघिल्ला दुई खेलमा अतिरिक्त समय खेलेको कुरा पटक–पटक उठाइएको थियो।

लुज्निकी स्टेडियममा हुने सो खेलमा थकान एउटा ठुलो कारक बन्न सक्ने अनुमान इङ्लिस प्रेसका केही हिस्साले गरेका थिए।

लुका मोड्रिचलाई यो भाष्य पटक्कै मन परेको थिएन। मस्कोमा पुनरागमन गर्दै आफ्नो देशले निकालेको जितमा उनले र क्रोएसियाली टोलीका अन्य तीस नाघेका खेलाडीहरूले यसैलाई प्रेरणाको स्रोत बनाए।

क्रोएसियाले अतिरिक्त समयमा ‘थ्री लायन्स’ लाई २-१ ले हराएलगत्तै टोटनहमका पूर्व स्टारले आइटीभीसँग भनेका थिए, ‘मानिसहरू, विशेषगरी इङ्लिस पत्रकार र टेलिभिजन पण्डितहरू जे भनिरहेका थिए, हामीले त्योभन्दा सबै कुरा फरक छ भनी प्रमाणित गरिदियौँ।’

Shivam Cement
‘उनीहरूका यी सबै कुरा हामीले पढिरहेका थियौँ र हामी भनिरहेका थियौँ, ठीक छ, आज हामी हेर्नेछौँ को थाक्नेछ। मैले भनेझैँ, उनीहरू अझ बढी विनम्र हुनुपर्छ र विपक्षीलाई बढी सम्मान गर्नुपर्छ। उनीहरूले आज राति क्रोएसियालाई कमजोर आँके र त्यो एउटा ठूलो गल्ती थियो।’

बुधबार डलासमा हुने विश्वकपको ‘रि–म्याच’ अघि यो गल्ती दोहोरिने सम्भावना कम छ, यद्यपि ४० वर्षको उमेरमा पनि मोड्रिच क्रोएसियाको कप्तानी गरिरहेका छन्।

दुःखद अन्त्य
अत्यन्तै कमजोर देखिएको इटालियन टोलीसँग पराजित हुँदै युरो २०२४ को समूह चरणबाटै क्रोएसिया बाहिरिएपछि अन्तर्राष्ट्रिय मञ्चमा हामीले मोड्रिचलाई अन्तिम पटक देखेको अनुमान गरेका थियौँ।

लेइपजिगको रेड बुल एरेनामा अन्तिम १६ मा पुग्नका लागि निर्णायक रहेको खेलमा, मोड्रिचले आफ्नै पेनाल्टी मिस भएपछि फर्केको बललाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, ‘प्लेयर अफ द म्याच’ अवार्ड जितेपछि अनिवार्य तस्बिर खिचाउन जाँदासम्म मोड्रिचको अनुहारमा गहिरो निराशा छाएको थियो। म्याटिया जाकग्नीले ९८औँ मिनेटमा गरेको निर्णायक गोलले इटालीलाई नकआउट चरणमा पुर्‍याएको थियो भने क्रोएसिया प्रतियोगिताबाट बाहिरिएको थियो।

मोड्रिचले आफ्नो शानदार अन्तर्राष्ट्रिय करियरको यस्तो सुखद अन्त्यको सायदै कल्पना गरेका थिए। उनको लोकप्रियताको प्रमाण यही थियो, अरू कसैले पनि उनको बिदाइ यसरी होस् भन्ने चाहेका थिएनन्।

‘कहिल्यै सन्न्यास नलेऊ !’
खेलपछिको पत्रकार सम्मेलनमा, इटालियन पत्रकार फ्रान्सेस्को रेपिसले उपस्थित सबै र विश्वभर हेरिरहेका साँचो फुटबल समर्थकहरूको प्रतिनिधित्व गर्दै मिडफिल्डर मोड्रिचलाई धन्यवाद दिए। उनले भनेका थिए, ‘आज राति मात्र होइन, तपाईंले आफ्नो करियरमा देखाउनुभएको सबै कुराका लागि धन्यवाद।’ साथै उनले मोड्रिचलाई ‘कहिल्यै सन्न्यास नलेऊ’ भन्दै आग्रह गरेका थिए।

तत्कालीन ३८ वर्षीय खेलाडीले जवाफ दिए, ‘म सधैँ खेलिरहन चाहन्छु, तर सायद यस्तो समय आउनेछ जहाँ मैले आफ्ना बुटहरू थन्क्याउनुपर्नेछ। म अहिलेका लागि खेल्न जारी राख्नेछु, तर कति लामो समयसम्म भन्ने मलाई थाहा छैन।’

रोचक कुरा त के छ भने, मोड्रिच अझै पनि आफ्ना बुट कहिले थन्क्याउने भन्नेमा निश्चित छैनन्। अझ आश्चर्यजनक कुरा त उनी अझै पनि अविश्वसनीय रूपमा उच्च स्तरको प्रदर्शन गरिरहेका छन्।

‘उनको क्लोन बनाऔँ !’
रियल मड्रिडमा उपाधिले भरिपूर्ण १३ सिजन बिताएपछि गत गर्मीमा मोड्रिच एसी मिलान गएका थिए। बाल्यकालमा आफूले समर्थन गरेको सिरी ‘ए’ क्लबमा सामेल हुनु बाल्यकालको सपना पूरा गर्नु मात्र नभएको कुरामा उनले जोड दिएका थिए। उनले साँच्चिकै रोजोनेरीलाई पुनर्जीवन दिन आफूले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने महसुस गरेका थिए। उनी सही पनि साबित भए।

आधुनिक युगका महान् मिडफिल्डरहरूमध्ये एकको आगमनले इटालीमा प्रशस्त चर्चा त पायो, तर धेरै पण्डितहरूले उनीभित्र अझै कति ऊर्जा बाँकी छ भनेर प्रश्न गरेका थिए। मिलानले भर्खरै सामुएल रिक्कीलाई अनुबन्ध गरेका कारण उनीहरूलाई मोड्रिचको खासै आवश्यकता नरहेको तर्क पनि गरिएको थियो।

तर, मिलानका प्रशिक्षक मासिमिलियानो एलेग्रीले आफूभन्दा अघि मोड्रिचलाई बारम्बार सुरुवाती रोजाइमा राख्दा ती २४ वर्षीय इटालियनलाई समेत कुनै आपत्ति थिएन। क्रोएसियाली खेलाडीको विनम्रता र खेल्ने तीव्र शैलीबाट चकित भएका रिक्कीले भने, ‘मैले सँगै खेलेका खेलाडीमध्ये उनी सबैभन्दा बलिया खेलाडी हुन्।’

इटालियन प्रेस पनि मोड्रिचको निरन्तरको उत्कृष्ट प्रदर्शनबाट उत्तिकै चकित थियो। पत्रकार अल्बर्टो पोल्वेरोसीले भनेका थिए, ‘यदि उनी साँच्चै ४० वर्षका हुन् भने, उनको क्लोन बनाऔँ !’

‘लुकिटा पागल हुन्’
मोड्रिचको ऊर्जावान् प्रदर्शनले सबै वैज्ञानिक व्याख्याहरूलाई चुनौती दिएजस्तो देखिन्थ्यो। तर, मिलानका लिजेन्ड काकाले आफ्ना पूर्वमड्रिड सहकर्मी केवल ४० वर्षीय ‘प्रकृतिको शक्ति’ भएको प्रस्ट पारे।

ब्राजिलियन खेलाडीले गाजेटा डेलो स्पोर्टसँग भने, ‘मलाई उनको मानसिकता कस्तो छ भन्ने थाहा छ। तपाईंसँग पहिले नै सबै कुरा हुँदा थोरै प्रेरणा गुमाउनु मानवीय स्वभाव हो, तर लुकिटा पागल हुन्। उनी अझै पनि आफ्नो ज्ञान बाँड्न चाहन्छन्, उनी आफ्ना सहकर्मीहरूलाई बोलाउँछन्, उनी सधैँ लड्न तयार हुन्छन्। उनीसँग ऊर्जा र व्यक्तित्व छ।’

‘मिलानका लागि खेल र प्रशिक्षणमा उनको योगदान महत्त्वपूर्ण छ। उनी त्यहाँ हुनु सम्पूर्ण इटालियन फुटबलका लागि राम्रो कुरा हो भन्ने मेरो विश्वास छ। उनको उत्साह, नेतृत्व र पक्कै पनि उनको प्रविधिको हिसाबले उनी जे गरिरहेका छन्, त्यो देख्न पाउनु उत्कृष्ट कुरा हो।’

मिलानको मोड्रिचमाथिको निर्भरता
एलेग्री मोड्रिचप्रति मोहित हुनु अस्वाभाविक थिएन। यी दुईबिच यति बलियो सम्बन्ध बन्यो, अर्को सिजन ती क्रोएसियाली खेलाडी उनको सहायक प्रशिक्षक बन्ने चर्चासमेत चलेको थियो।

तर, त्यहाँ एउटा मात्र समस्या थियो: मिलान मोड्रिचमाथि धेरै नै निर्भर भयो। त्यसैले सिजनको अन्त्यतिर यी अनुभवी खेलाडी घाइते हुँदा एलेग्रीको टोलीको प्रदर्शन खस्कियो।

अप्रिल २६ मा युभेन्टससँगको गोलरहित (०-०) बराबरीमा गालाको हड्डी भाँचिएका कारण, मोड्रिचले मिलानका अन्तिम चारमध्ये कुनै पनि खेल सुरुवाती रोजाइमा खेल्न सकेनन्। तीमध्ये तीन खेलमा मिलान पराजित भयो, जसको परिणाम स्वरूप रोजोनेरी तेस्रोबाट पाँचौँ स्थानमा खस्किँदै च्याम्पियन्स लिग फुटबल खेल्नबाट वञ्चित भयो।

प्रेरित मोड्रिच
शीर्ष चारमा पर्न असफल भएपछि एलेग्रीलाई बर्खास्त गरिएकाले मोड्रिच अर्को सिजन मिलानमै रहन्छन् या रहँदैनन् भन्ने अहिले अस्पष्ट छ। मोड्रिचले क्लब र सहरको खुलेर प्रशंसा गर्दै आएका छन्। तर यदि उनले यसै गर्मीमा आफ्ना बुट थन्क्याउने निर्णय गरेमा मड्रिडले उनलाई कुनै न कुनै जिम्मेवारीसहित बर्नाबेउमा फिर्ता ल्याउन चाहेको खबर बाहिरिएको छ।

अहिलेका लागि मोड्रिच आफ्नो भविष्यको बारेमा मौन नै छन्। तर यस चरणमा क्रोएसियासँगको यो उनको अन्तिम ठूलो प्रतियोगिता हुने पक्कापक्की जस्तै छ। त्यसैले विश्वकपमा उनले सुरक्षात्मक मास्क लगाएर खेल्नुपर्ने अवस्था आदर्श पक्कै होइन। चुनौतीपूर्ण हुने अनुमान गरिएको परिस्थितिमा यसरी खेल्नु विशेषगरी असहज हुन सक्छ।

यद्यपि, मोड्रिचले मानिसहरूलाई गलत साबित गर्दै आफ्नो करियर अगाडि बढाएका छन्। उनले हालै भनेका थिए, ‘अरू कसैले के भन्यो भनेर मैले कहिल्यै वास्ता गरिनँ, यसले मलाई थप प्रेरित मात्र गर्‍यो।’

त्यसोभए, ४० वर्षको उमेरमा मास्क लगाएका मोड्रिचलाई कमजोर आँक्ने आँट कसले गर्ला ? इङ्लिस मिडियाले त पक्कै गर्ने छैन। उनीहरूले पहिले नै यसको मूल्य चुकाइसकेका छन्।

गोल डटकम

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖