कान्सास । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले विश्वकपको पहिलो खेलमा अल्जेरियाविरुद्ध सुरुवाती गोल गरेपछि आफू भावुक बन्दै रोएको खुलासा गरेका छन्।
अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले पराजित गरेको उक्त खेलमा मेस्सीले मैदानमा आँसु बगाउनुको कारण फुटबलसँग पूर्ण रूपमा असम्बन्धित व्यक्तिगत मामिला रहेको बताएका हुन्।
आफ्नो देशका लागि २०० औँ खेल खेलिरहेका ३८ वर्षीय मेस्सीले सानदार ह्याट्रिक गर्दै साविक विजेता अर्जेन्टिनालाई विश्वकप रक्षाको यात्रामा सुखद र बलियो सुरुवात दिलाए। खेलको १८ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै मेस्सीले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
गोल गरेपछि खुसी मनाउन उनलाई टोलीका अन्य साथीहरूले घेरेका थिए, तर लगत्तै मेस्सी आफ्नो जर्सीले आँसु पुछ्दै गरेको अवस्थामा क्यामेरामा कैद भए। खेलपछि आफ्नो भावुकताबारे प्रस्ट पार्दै मेस्सीले भने, ‘म किन रोएँ? त्यो फुटबलसँग पूर्ण रूपमा असम्बन्धित कुरा थियो । म केही कठिन दिनहरूबाट गुज्रिएँ, तर म सम्पूर्ण प्रतिनिधिमण्डल र मेरा साथी खेलाडीहरूप्रति कृतज्ञ छु किनभने उनीहरू सधैँ मेरो साथमा रहे र मलाई यसबाट बाहिर निस्कन ठुलो शक्ति दिए ।’
विश्वकपमा मेस्सीको यो पहिलो ह्याट्रिक हो। यस ह्याट्रिकसँगै विश्वकपमा उनको कुल गोल सङ्ख्या १६ पुगेको छ, जसले उनलाई जर्मनीका दिग्गज खेलाडी मिरोस्लाभ क्लोजसँगै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा पुर्याएको छ।
यसका साथै मेस्सी इतिहासमै ६ वटा विश्वकप खेल्ने पहिलो खेलाडी समेत बनेका छन्। उनले ठिक २० वर्षअघि आजकै दिन विश्वकपमा डेब्यु गर्दै सर्बिया र मोन्टेनेग्रोविरुद्ध ६-० को जितमा गोल गरेका थिए।
आठ पटकका ब्यालोन डी’ओर विजेता मेस्सीको यो प्रदर्शनले अर्जेन्टिनालाई विश्वकप इतिहासमा पहिलो पटक साविक विजेताका रूपमा आफ्नो ओपनिङ म्याच जिताउन मद्दत गर्यो, यसअघि सन् १९८२ र १९९० मा साविक विजेता हुँदा अर्जेन्टिना पहिलो खेलमै पराजित भएको थियो।
विश्वकप सुरु हुनुअघि इन्टर मियामीबाट खेल्ने क्रममा मांसपेशीको थकानका कारण चाडै मैदान छाड्नुपरेपछि मेस्सीको फिटनेसलाई लिएर अनेकौँ आशङ्काहरू गरिएका थिए। तर उनले मैदानमा उत्रिएर सबै शङ्काहरूलाई गलत साबित गरिदिए।
आफ्नो वर्तमान खेलजीवनबारे थप बोल्दै मेस्सीले भने, ‘मेरो जीवनमा जे जति परिस्थितिहरू आए, ती सबैलाई पार गरेर यहाँसम्म आइपुग्दा म धेरै खुसी छु । मैले अहिले जे भोगिरहेको छु, त्यो मेरा लागि थप सुनौलो अवसर हो । म यो अद्भुत समूहका लागि धेरै खुसी र कृतज्ञ छु, म यसको धेरै आनन्द लिइरहेको छु ।’ अल्जेरियाविरुद्धको खेलको ८० औँ मिनेटमा मेस्सीलाई मैदानबाट बाहिर निकालिँदा कान्सास सिटी स्टेडियममा उपस्थित दर्शकहरूले उठेर ताली बजाउँदै उनको नामको जयजयकार गरेका थिए।
सन् २०२२ मा कतारमा भएको विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएर मेस्सीले लामो समयदेखि अधुरो रहेको आफ्नो सपना पूरा गरेका थिए। अर्जेन्टिनालाई विश्वकपको उपाधि रक्षा गर्ने इतिहासकै तेस्रो राष्ट्र बनाउनका लागि मेस्सीको उपस्थिति र प्रदर्शन आगामी खेलहरूमा पनि उत्तिकै महत्त्वपूर्ण हुने निश्चित छ।
मेस्सीको प्रभावबारे बोल्दै अर्जेन्टिनाका मिडफिल्डर एलेक्सिस म्याक एलिस्टारले भने, ‘उनको वर्णन गर्नका लागि कुनै शब्द छैन । यदि कसैले यो टोली लियोनेल मेस्सी बिना राम्रो हुन्छ भन्ने सोचेको थियो भने, आज त्यसको ठीक उल्टो प्रमाणित भएको छ । उनी हाम्रा सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन्, हामीले उनकै वरिपरि टिम निर्माण गर्न आवश्यक छ र हामीले त्यही गरिरहेका छौँ ।’
विश्वकपको समूह ‘जे’ अन्तर्गत अर्जेन्टिनाले आफ्नो दोस्रो खेल आगामी सोमबार, जुन २२ मा अस्ट्रियाविरुद्ध खेल्ने तालिका छ।
