काठमाडौं, असार ७ — गृहमन्त्री सुधन गुरुङ विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ।
शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई प्रहरी हिरासतभित्र पुगेर मानसिक दबाब दिने तथा ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै उजुरी दर्ता गरिएको हो।
उजुरीकर्ताहरू अजय सोडारी, प्रकाश बम र सुजन पौडेल ले मानव अधिकार आयोगको केन्द्रीय कार्यालय पुल्चोक मा पुगेर निवेदन दर्ता गरेका हुन्।
निवेदनमा उल्लेख भएअनुसार, जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा समस्या विषयमा भारतीय दूतावास अगाडि भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरू पक्राउ परेका थिए। त्यसपछि उनीहरूलाई सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको र करिब आधा घण्टापछि गृहमन्त्रीको नेतृत्वमा आएको टोली अनधिकृत रूपमा हिरासत कक्षभित्र प्रवेश गरेको दाबी गरिएको छ।
पीडितहरूले घटनाबारे सत्यतथ्य छानबिन गर्न, सीसीटीभी फुटेज सुरक्षित गर्न तथा आगन्तुक अभिलेख नियन्त्रणमा लिन माग गरेका छन्।
