चितवन, असार ७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएसँगै नयाँ नेतृत्व चयनबारे प्रतिनिधिहरूबीच तीव्र चर्चा सुरु भएको छ।
चितवनको भरतपुर मा जारी महाधिवेशनको दोस्रो दिन राजनीतिक, सांगठनिक र विधानसम्बन्धी प्रस्ताव पारित गरी निर्वाचन प्रक्रिया सुरु गर्ने कार्यसूची रहे पनि बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन।
महाधिवेशन प्रतिनिधि कार्डमा देखिएको त्रुटि सच्याउन समय लाग्नुका साथै मधेस प्रदेशका प्रतिनिधिसम्बन्धी विवादका कारण बन्दसत्र प्रभावित भएको नेताहरूले बताएका छन्। बन्दसत्र ढिलो भएपछि केही प्रतिनिधि तथा नेताहरू अनौपचारिक रूपमा केन्द्रीय सदस्य र पदाधिकारी पदका लागि मत माग्न व्यस्त देखिएका छन्।
रास्वपाको विधानअनुसार १९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। तीमध्ये ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुने जनाइएको छ। सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन्द्र शाह निर्विरोध हुने चर्चा भए पनि अन्य पदमा निर्वाचन हुने सम्भावना रहेको छ।
पदाधिकारी र केन्द्रीय सदस्यका सीमित पदमा आकांक्षीको संख्या धेरै भएकाले कुन–कुन पदमा निर्वाचन हुने भन्ने अझै टुंगो लागेको छैन। यद्यपि पार्टी नेतृत्वले संगठनात्मक एकतालाई प्राथमिकतामा राख्दै सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास गरिरहेको जनाएको छ।
रास्वपामा विवेकशील साझा, बालेन समूह, थारुवान/थरुहट समूह तथा जेनजी समूहलगायत विभिन्न धार समाहित भएकाले सबै पक्षलाई समेट्ने गरी नेतृत्व चयन गर्नुपर्ने चुनौती नेतृत्वसामु रहेको बताइएको छ।
महाधिवेशनअघि बसेको सचिवालय बैठकमा सभापति लामिछानेले पार्टीभित्र अझै धेरै काम गर्न बाँकी रहेकाले सहमतिमै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका थिए। सचिवालय सदस्य गणेश पराजुली का अनुसार सबै पक्षलाई मिलाएर नेतृत्व चयन गर्ने जिम्मेवारी सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई दिइएको छ।
पार्टी स्रोतका अनुसार सहमति नभए महामन्त्री पदका लागि हालका महामन्त्री कवीन्द्र बुर्लाकोटी, भुपदेव शाह, मनिष झा, शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली, यज्ञमणि न्यौपाने र लिमा अधिकारी लगायतका नेताहरू प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेका छन्।
सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भइरहे पनि आकांक्षी धेरै भएकाले सबै पक्षको व्यवस्थापन गर्नु नेतृत्वका लागि चुनौतीपूर्ण देखिएको छ।
