काठमाडौं, असार ७ — अशोक कुमार राई नेतृत्वको समूहले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोग मा निवेदन दिएको छ।
राई नेतृत्वको समूहले सोमबार ‘समाजवादी पार्टी’ नामक दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गरेको हो।
नयाँ पार्टीमा अध्यक्ष अशोक राई रहेका छन् भने उपाध्यक्षमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दान बहादुर विश्वकर्मा रहेका छन्।
त्यसैगरी, शरण कुमार राई उपमहासचिवमा चयन भएका छन् भने सचिव पदमा हेमन्तराज मान्डव्य, मनिकर कार्की र भिम बहादुर तामाङ रहेका छन्।
अध्यक्ष राईले आठ जना पदाधिकारीसहित २८ सदस्यीय केन्द्रीय समितिको नामावली संलग्न गरी दल दर्ताका लागि निवेदन दिएको जनाइएको छ।
यसअघि राई समूहले जनता समाजवादी पार्टी, नेपाल बाट अलग भएर नयाँ दल गठन गरेको थियो। उक्त विभाजनविरुद्ध पार्टी अध्यक्ष उपेन्द्र यादव ले सर्वोच्च अदालत मा मुद्दा दायर गरेका थिए।
सर्वोच्च अदालतले अशोक राई नेतृत्वको दललाई कानुनी मान्यता नदिने फैसला गरेपछि राई पक्ष दलविहीन बनेको थियो। सोही फैसलापछि राई समूहले नयाँ पार्टी दर्ता प्रक्रियामा अघि बढेको हो।
