चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि सम्पन्न निर्वाचनमा करिब एक तिहाइ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन्।
रास्वपा निर्वाचन आयोगका अनुसार मतदानका लागि योग्य ४ हजार ३११ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मात्र मतदान गरेका छन्। यसअनुसार १ हजार ३५२ प्रतिनिधिले मतदान गरेनन्।
बिहीबार सम्पन्न निर्वाचनमार्फत पार्टीको नयाँ केन्द्रीय समिति चयनका लागि मत सङ्कलन गरिएको हो। केन्द्रीय सदस्य पदका लागि कुल ३७९ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये ९९ जना निर्वाचित हुनेछन्।
निर्वाचन आयोगले देशभित्र रहेका प्रतिनिधिहरूको मतदान प्रक्रिया सम्पन्न भएको जनाएको छ। विदेशमा रहेका प्रवासी प्रतिनिधिहरूका लागि भने मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरिएको छ। प्रवासबाट हुने मतदान सम्पन्न भएपछि अन्तिम मतगणना गरी परिणाम सार्वजनिक गरिने आयोगले जनाएको छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ।
