काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किँदै जाँदा निवर्तमान सभापति शेरबहादुर देउवा समूह र नेता डा. शेखर कोइराला समूहले काठमाडौँमा छुट्टै सम्पर्क कार्यालय खोल्ने तयारी गरेका छन्।
कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख तथा देउवा समूहका नेता मीन विश्वकर्माका अनुसार काठमाडौँको महाराजगन्जस्थित अमेरिकी दूतावास पछाडि चुनदेवी क्षेत्रमा सम्पर्क कार्यालय खोल्ने तयारी गरिएको छ।
‘१५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय महाराजगन्जको चुनदेवीमा खोल्दैछौँ। एक–दुई दिनमा खुल्छ,’ विश्वकर्माले भने, ‘त्यहाँ नियमित महाधिवेशनको पक्षमा रहेका सबै नेता तथा कार्यकर्ताको भेटघाट र छलफल हुनेछ।’
गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनपछि पार्टीभित्रको विवाद अझ चर्किएको हो। तत्कालीन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवाको असहमतिकाबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन सम्पन्न भएको थियो, जसबाट नयाँ कार्यसमिति पनि चयन गरिएको थियो।
तर सो विशेष महाधिवेशनलाई देउवा, डा. शेखर कोइराला र नेता कृष्णप्रसाद सिटौला समूहले बहिष्कार गरेका थिए। हाल यी समूहहरूबीच समन्वय बढ्दै गएर संयुक्त रूपमा सम्पर्क कार्यालय खोल्ने तयारी गरिएको हो।
निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेका अनुसार १५औँ महाधिवेशनका विषयमा छलफल र समन्वयका लागि कार्यालय स्थापना गर्न लागिएको हो।
यसैबीच, संस्थापन पक्षले क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्णय गरे पनि उक्त निर्णयलाई अस्वीकार गर्दै असन्तुष्ट समूहहरूले प्रक्रिया अघि नबढाएको बताइएको छ। यही विवाद उत्कर्षमा पुगेका बेला नयाँ सम्पर्क कार्यालय खोल्ने तयारी भएको हो।
