• Tuesday 6th of October 2026

सरकारलाई अमरेश कुमारको चेतावनी: संघीयता र प्रदेश संरचना खारेज गर्ने प्रयास गरे प्रतिरोध गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा अमरेश कुमार सिंहले उपसभापति स्वर्णिम वाग्लेले चितवनमा जारी पहिलो महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनप्रति कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले संघीयता र प्रदेश संरचना खारेज गर्ने कुनै पनि प्रयासको कडा प्रतिरोध हुने चेतावनी दिएका छन्।

उनले नेपालमा संघीयता, समावेशिता र लोकतन्त्र लामो राजनीतिक संघर्षको उपलब्धि रहेको उल्लेख गर्दै कसैले यस व्यवस्थालाई कमजोर बनाउने वा समाप्त गर्ने प्रयास जनताको भावना विपरीत हुने दाबी गरेका छन्। ‘नेपालको लोकतन्त्र, संघीयता र समावेशितासँग कसैले छेडखानी गरे नेपाली जनताले यसको सशक्त प्रतिरोध गर्नेछन्’ सिंहले भनेका छन्।

सिंहले संघीयता केवल प्रशासनिक संरचना नभई विविधता, पहिचान, समावेशिता र क्षेत्रीय सन्तुलनको आधार भएको बताएका छन्। विशेष गरी मधेश, थारु, जनजाति तथा अन्य समुदायले अधिकार प्राप्तिका लागि गरेको लामो संघर्षको परिणामस्वरूप संघीय व्यवस्था स्थापित भएको उनको तर्क छ। त्यसैले प्रदेश संरचना हटाउने वा संघीयता समाप्त गर्ने प्रस्तावले देशलाई पुनः केन्द्रीकृत शासनतर्फ धकेल्न सक्ने उनको चेतावनी छ।

उनले नेपाली जनताले सुशासन, विकास र समृद्धि चाहेको स्वीकार गर्दै त्यसका लागि संघीयता नै बाधक नभएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖