चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पदाधिकारी चयनमा सहमति जुटाउने रातभरको प्रयास असफल भएको छ।
एक महामन्त्री पदका लागि सुरुमा पाँच जना प्रतिस्पर्धी देखिए पनि निर्वाचन आयोगले पहिलो चरणको नतिजा सार्वजनिक गरेपछि केन्द्रीय समितिमा लोकप्रिय मत प्राप्त गरेका अन्य नेताहरूले पनि उक्त पदमा आकांक्षा देखाएका थिए। अन्ततः उक्त पदका लागि ११ जनाले उम्मेदवारी दिने घोषणा गरेका छन्।
उम्मेदवारको संख्या बढेपछि सभापति रवि लामिछानेले सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयासस्वरूप करिब ८ घण्टा लामो छलफल गरेका थिए। तर, परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल बाहेक अन्यले उम्मेदवारी फिर्ता लिन नमानेपछि उनी बिहान करिब ६ बजेतिर मतदान स्थलबाट बाहिरिएका थिए।
पार्टी स्रोतका अनुसार महामन्त्री पदमा निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिनकुमार आचार्य, प्रवक्ता मनिष झा, निवर्तमान सचिवालय सदस्य गणेश पराजुली, सागर ढकाल, गणेश कार्की, प्रमोद न्यौपाने, रञ्जु दर्शनालगायतले उम्मेदवारी दिएका छन्। पूर्व सञ्चारमन्त्री जगदीश खरेल र राजु पाण्डेले पनि आकांक्षा देखाएका छन्।
निवर्तमान महामन्त्री बुर्लाकोटीले आकांक्षीहरूबीच सहमति कायम गर्न प्रयास जारी रहे पनि उम्मेदवारहरूले आ–आफ्ना दाबी नछोड्दा सहमति जुट्न नसकेको बताएका छन्। उनले सभापतिले रातभर सहमतिको प्रयास गरे पनि जिम्मेवारी बाँडफाँटबारे स्पष्टता नहुँदा सहमति हुन नसकेको टिप्पणी गरेका छन्।
केन्द्रीय सदस्यमा राम्रो मत प्राप्त भएपछि पदाधिकारी पदमा आकांक्षी बढेको उनको बुझाइ छ।
यसैबीच, ६ दिनदेखि चर्को घाममा बसेर नेतृत्व चयन टुंगो नलागेपछि प्रतिनिधिहरू असन्तुष्ट बनेका छन्। उनीहरूले सहमति भए निर्वाचन गर, नभए प्रक्रिया अघि बढाऊ भन्ने दबाब दिइरहेका छन्। निर्वाचन आयोगको भूमिकामाथि समेत प्रश्न उठाइएको छ।
उपसभापति पदमा पुरुषतर्फ डा. स्वर्णिम वाग्ले निर्विरोध भए पनि महिलातर्फ भने धेरै आकांक्षी भएकाले सहमति जुट्न सकेको छैन।
