काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको केन्द्रीय सदस्य निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै उम्मेदवार पूजा बास्तोलाले सर्वोच्च अदालत जाने घोषणा गरेकी छिन्।
बास्तोलाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश भूगोलतर्फको निर्वाचनमा आफूले ९१३ मत प्राप्त गरे पनि अन्तिम परिणाममा आफूलाई विजयी नदेखाइएको दाबी गरेकी छन्। उनका अनुसार महिला र खुला दुवै कोटामा आफू उच्च स्थानमा पर्ने मत प्राप्त भए पनि अन्तिम सूचीमा समावेश नगरिएको हो।
उनले निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजामा आफूभन्दा कम मत ल्याएका उम्मेदवारहरू निर्वाचित भएको आरोप लगाउँदै प्रक्रिया, विधि र मापदण्ड विपरीत निर्णय भएको बताएकी छन्।
बास्तोलाले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिए पनि चित्तबुझ्दो जवाफ नपाएको र विषयलाई गम्भीर रूपमा नलिइएको अनुभव भएपछि कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने निर्णय गरेको उल्लेख गरेकी छिन्।
उनले आफ्नो कदम व्यक्तिगत स्वार्थका लागि नभई मतदाताको सम्मान, पारदर्शी प्रक्रिया र लोकतान्त्रिक पद्धतिको पक्षमा भएको बताउँदै “पदभन्दा ठूलो पद्धति हुन्छ” भन्ने धारणा व्यक्त गरेकी छन्।
यस विषयमा पार्टीको निर्वाचन आयोगले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
