काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनको मतदान अन्तिम चरणमा पुगेपछि विवाद उत्पन्न भएको छ।
मतदानका लागि तोकिएको समय सकिएपछि मतदानस्थलको ढोका बन्द गरिए पनि एक समूह प्रतिनिधिले आफूहरूलाई मतदान गर्न दिनुपर्ने माग गर्दै दबाब दिएका थिए।
यसबिच, केन्द्रीय निर्वाचन आयोगले टाढाबाट आएका प्रतिनिधिहरूलाई ध्यानमा राख्दै मतदान समय ३० मिनेट थप गरेको जनाएको छ। आयोगका अनुसार थपिएको समयमा मतदानस्थलको हलभित्र रहेका प्रतिनिधिहरूलाई मात्र मतदानको अवसर दिइनेछ।
निर्वाचन आयोगले मतदान प्रक्रियामा सहभागी हुन भौचर भरिसकेका प्रतिनिधिहरूलाई दुई मिनेटभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
आयोगका अनुसार पदाधिकारी निर्वाचनमा करिब १,२०० देखि १,३०० मत खसेको अनुमान गरिएको छ। अन्तिम मत गणना गरी छिट्टै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ।
