काठमाडौं । प्रतिनिधिसभा बैठक जारी रहँदा संसदको अग्रपंक्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान महामन्त्री तथा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी मात्र देखिएका छन्।
संसदमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष, अन्य प्रतिपक्षी दल तथा सरकारका मन्त्रीहरूका लागि अग्रपंक्तिमा २० वटा सिटको व्यवस्था गरिएको छ। तीमध्ये सत्तापक्षका आठ, प्रतिपक्षका आठ र सरकारका तर्फबाट चार सिट छुट्याइए पनि बैठक अघि बढ्दै जाँदा अधिकांश सांसद तथा मन्त्रीहरू बाहिरिएपछि सिट खाली भएका हुन्।
यस क्रममा केहीबेरअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा सहभागी हुन अग्रपंक्तिमा उपस्थित भएका थिए। छलफल सकिएपछि उनी पनि बाहिरिएसँगै अग्रपंक्तिमा बुर्लाकोटी मात्रै बसेका देखिएका हुन्।
प्रतिनिधिसभामा अहिले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पेस गरेको ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको छ।
संसद बैठक लम्बिँदै जाँदा सांसदहरू क्रमशः बाहिरिने र बैठकप्रति अपेक्षित उपस्थिति तथा गम्भीरता नदेखिने प्रवृत्ति पटक–पटक देखिँदै आएको छ।
