काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नरबहादुर विष्टले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कार्यशैलीलाई लिएर कडा आलोचना गरेका छन्।
सोमबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद विष्टले प्रधानमन्त्री कार्यालयलाई “हिटलरको ग्यास च्याम्बर जस्तै” भन्दै संवैधानिक निकायका प्रमुखहरूलाई दबाब र धम्की दिने शैली अपनाइएको आरोप लगाए।
उनका अनुसार प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकायका प्रमुखहरूलाई बोलाएर गाली गर्ने, मानवअधिकार आयोगलाई धम्क्याउने तथा थर्काउने कार्य भइरहेको छ, जसले लोकतान्त्रिक अभ्यास कमजोर बनाएको छ।
सांसद विष्टले सरकारको प्रशासनिक खर्च र सल्लाहकार नियुक्तिप्रति पनि प्रश्न उठाउँदै ५७ जनासम्मलाई सचिवसरह सुविधा दिएर सचिवालय विस्तार गर्ने तयारीबारे आलोचना गरे। उनले यसलाई राज्यको ढुकुटीमाथिको दुरुपयोगको संकेत भएको टिप्पणी गरे।
सांसद विष्टले सुशासन, जनजीविका र कूटनीतिक क्षेत्रमा सरकार असफल भएको आरोप पनि लगाए। पासपोर्ट प्रकरणमा जर्मनीले नेपाल सरकारसँग गरेको कडा प्रतिक्रिया उल्लेख गर्दै उनले सरकारको कूटनीतिक कमजोरी उजागर भएको बताए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारको कार्यशैलीप्रति समेत आलोचना गर्दै सहकारी ठगी, महँगी, किसानका समस्या तथा शिक्षाको अवस्थाबारे सरकार उदासीन रहेको दाबी गरे।
सांसद विष्टले संविधान २०७२ को संरक्षण सबैको जिम्मेवारी भएको उल्लेख गर्दै राजनीतिक असन्तुष्टि भए पनि लोकतान्त्रिक प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा जोड दिए।
