• Tuesday 6th of October 2026

रास्वपाका निर्वाचित ९९ केन्द्रीय सदस्य, को कता ?


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित केन्द्रीय सदस्यहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय ‘घन्टी घर’मा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले केन्द्रीय सदस्य तथा पदाधिकारीलाई शपथ गराएका हुन्।

असार ७ देखि १२ गतेसम्म चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट सभापतिसहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। रास्वपाको विधानअनुसार १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचित र ५१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ। सातै प्रदेशका सभापति पदेन सदस्य रहने प्रावधान पनि रहेको छ।

महाधिवेशनबाट खुलातर्फ ३२, समावेशीतर्फ ३२ तथा सात प्रदेशबाट पाँच–पाँच जना गरी केन्द्रीय सदस्य निर्वाचित भएका थिए। साथै, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री गरी छ जना निर्वाचित पदाधिकारीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।

रास्वपामा कुल १९ जना पदाधिकारी रहने व्यवस्था भए पनि वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष भने सभापतिबाट मनोनयन हुन बाँकी छ।

महाधिवेशनको परिणामअनुसार केन्द्रीय सदस्यमा निर्वाचितमध्ये रवि लामिछाने पक्षका ३४ जना, बालेन समूहका २५ जना, विवेकशील साझाका तीन जना तथा अन्य समूहका ३८ जना रहेका छन्। फागुनमा भएको एकीकरणअघि रास्वपाले बालेन समूह, विवेकशील साझा, जेनजी समूह, थारुहट/थारुवान समूह र दलित समूहलाई पार्टीमा समायोजन गरेको थियो।

महाधिवेशनमा साविक रास्वपाका केही प्रभावशाली नेताहरू फरक धारमा उभिएको पनि देखिएको छ। असिम शाह, गणेश कार्की र निशा डाँगीलगायत नेताहरू वैकल्पिक समूहसँग निकट देखिएका छन्। प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकारसमेत रहेका असिम शाह सहमहामन्त्रीमा निर्वाचित भएका छन् भने निशा डाँगी बालेन समूहबाट सक्रिय रहेको चर्चा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖