• Sunday 4th of October 2026

पोर्चुगल र क्रोएसियाबिचको खेलका क्रममा किन भयो तनाव ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को खेलमा पोर्चुगल र क्रोएसियाबीचको प्रतिस्पर्धा निकै तनावपूर्ण बन्यो । टोरन्टो स्टेडियममा शुक्रबार बिहान भएको खेलमा पोर्चुगल २–१ ले विजयी भए पनि अन्तिम समयमा भिएआरको एउटा निर्णयले मैदानमा तनावको स्थिति सिर्जना भएको हो ।

खेलको दोस्रो निकै सनसनीपूर्ण भयो । ५३औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए भने ६८औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत बराबरी गोल फर्काए।

खेल १–१ को स्थितिमा रहँदा ८१औं मिनेटमा प्रशिक्षकले रोनाल्डोलाई मैदानबाट बाहिर बोलाए । तर, ९४औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाएपछि खेल पोर्चुगलको पक्षमा ढल्किएको थियो।

तर खेलमा अर्को तनाव भने इन्जुरी समयको १३औं मिनेट (९०+१३’) मा उत्पन्न भयो। क्रोएसियाका जोस्को ग्वार्डिओलले गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्‍याएको देखिएको थियो। क्रोएसियाली खेलाडी र समर्थकहरूले बराबरीको खुसी मनाइरहेका बेला भिएआरले उक्त गोललाई अफसाइड भएको भन्दै रद्द गरिदियो। रेफ्रीको यो निर्णयपछि क्रोएसियाली समर्थकहरू आक्रोशित बनेका थिए।

आक्रोशित समर्थकहरूले ग्यालरीबाट मैदानमा प्लास्टिकका बोतल र क्यानहरूको वर्षा गरेपछि खेल केहीबेर पूर्ण रूपमा प्रभावित भएको थियो। मैदानभरि बोतलहरू थुप्रिएपछि खेलाडीहरू सुरक्षित स्थानमा ओत लाग्नुपर्ने अवस्था आएको थियो भने रेफ्रीलाई खेल पुनः सुचारु गर्न निकै कठिन भएको थियो।

करिब १८ मिनेटसम्म थपिएको इन्जुरी समयमा तनावका बीच खेल सकिँदा क्रोएसियाली खेलाडीहरू रेफ्रीमाथि खनिएका थिए।

यस तनावपूर्ण जितसँगै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ भने क्रोएसिया विश्वकपबाट बाहिरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖