काठमाडौं । विद्यालयहरुले अबदेखि विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि गर्न नपाउने भएका छन् । मन्त्रिपरिषद्बाट बिहीबार पारित भएको शिक्षा नियमावली १० औं संसोधन अनुसार कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि विद्यालय परिसर वा कक्षा कोठाभित्र सञ्चालन गर्न वा गराउन पाइने छैन ।
शुल्क नतिरेको जस्ता कारणले विद्यार्थीलाई अपमानित गर्न समेत पाइने छैन।नियमावलीमा विद्यार्थीलाई सार्वजनिक रूपमा लाञ्छित गर्ने, भेदभावपूर्ण व्यवहार गर्ने, कक्षा वा परीक्षामा सहभागी हुनबाट वञ्चित गर्ने, जबरजस्ती कपाल काट्ने वा कटाउन लगाउने, विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार (मेक अप) वा साजसज्जाका आधारमा होच्याउन नपाइने भनिएको छ ।
लामो समयसम्म घाम वा अन्य प्रतिकूल अवस्थामा उभ्याई दण्ड दिने तथा विद्यार्थीको आत्मसम्मान, मर्यादा, शारीरिक तथा मानसिक स्वास्थ्य वा मनोसामाजिक अवस्थामाथि प्रतिकूल असर पुग्ने कुनै कार्य वा व्यवहार सम्झनुपर्ने नियमावलीमा उल्लेख छ ।
शिक्षक सरुवा हुन निश्चित अङ्क ल्याउनुपर्ने भएको छ। शैक्षिक योग्यता लगायतलाई आधार बनाई अङ्क निर्धारण गरिएको छ । यो संगै शिक्षक सरुवा पेचिलो बन्ने भएको छ । सामान्यतया तीन वर्षमा शिक्षक सरुवा गरिने व्यवस्था समेटिएको छ ।
