• Tuesday 6th of October 2026

साझा बसको रङ फेरेर साउन १ देखि चल्दैछन् ‘ब्लु बस’, कुन रुटमा कतिवटा ?


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले साझा यातायातको रङ फेरेर ‘ब्लु बस’ सञ्चालनमा ल्याउने भएको छ । सरकारले ल्याएको शासकीय सुधारका १०० कार्यसूचीमा उल्लेख भएको यस्तो बसको सञ्चालन साउनदेखि गर्ने तयारी गरेको हो ।

सरकारकाे कार्यसूची बमोजिम अर्थ मन्त्रालयले ब्लुबस सञ्चालनका लागि आर्थिक वर्ष २०८३/८४ मा बजेट समेत विनियोजन गरेको थियो । यस अनुसार पहिलो चरणमा ब्लुबस सञ्चालनको लागि बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालय पुर्याइएको छ । अर्थबाट बजेट स्वीकृत भएर आएपछि पहिलो चरणमा बस सञ्चालन सुरु हुने मन्त्रालयले जनाएको छ ।

सरकारले ब्लुबस सञ्चालनका लागि पहिलो चरणमा ८ वटा छुट्याएको छ । बुढानीलकन्ठबाट गोदावरीसम्म २ वटा, नागढुंगाबाट एयरपोर्टसम्म २ वटा तथा चक्रपथमा ‘क्लकबाइज’ र ‘एन्टी–क्लकवाइज’ २/२ वटा बस सञ्चालन गर्न लागिएको भौतिक पूर्वाधार मन्त्रालयका निर्देशक ज्ञानराज लम्सालले जानकारी दिए ।

ब्लुबस सञ्चालन गर्ने भएपछि अहिले साझाले यसका लागि तयारी सुरु गरेको छ । खासगरी रुट अनुसार बसहरुको व्यवस्थापनको काम अहिले भइरहेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र अर्याल बताउँछन् ।

‘हामीले कुन रुटमा कुन बस सञ्चालन गर्ने भन्ने तयारी गरिरहेका छौं । मन्त्रालयसँग सम्झौता भएपछि बस रंग्याउने काम सुरु हुन्छ । नाम नै ब्लुबस भएकोले यसको रङ पनि परिवर्तन हुन्छ । सम्झौता भएको १०/१५ दिनमै सञ्चालन गर्नेगरी हामीले तयारी गरेका छौं’, उनले भने ।

महिलाका लागि मात्रै तोकिएको उक्त बसमा महिलाहरु नि:शुल्क रुपमा चढ्न पाउनेछन् । सरकारले बस सञ्चालनबापत लाग्ने खर्च सरकारले व्यहोर्नेछ । यो लागत खर्च अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

सुरुमा उक्त बस बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालनको तयारी गरिएको छ । ब्लु बस बाहेक साझाका अन्य बस सेवा भने यथावत रहनेछन् ।

दाेस्रो चरणमा प्रदेशहरुमा यस्तो बस सञ्चालन गर्ने सरकारले जनाएको छ । सरकारले १०० दिनभित्र २५ वटा बस सञ्चालन गर्ने घोषणा गरे पनि निर्धारित समयभित्र भने सुरु नहुने निश्चित भएको छ । आगामी मंगलबार सरकार गठनको १०० दिन पुग्दैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖