काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको विस्तारित बैठक काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १४औँ महाधिवेशनबाट निर्वाचित समूहका पदाधिकारी, केन्द्रीय सदस्य तथा पूर्वपदाधिकारीहरूको बैठक बसेको हो।
नेता प्रकाशशरण महतका अनुसार बैठकमा पार्टीभित्र देखिएको आन्तरिक विवाद र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ। रङरोगन सम्पन्न भएपछि सम्पर्क कार्यालयलाई सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको पनि उनले जानकारी दिए।
बैठकपछि देउवा समूहले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। यद्यपि, राष्ट्रिय भेलाअघि नै संस्थापन पक्षले समूहले उठाएका मागबारे गम्भीर छलफल अघि बढाउनुपर्ने देउवा पक्षको धारणा छ।
पछिल्लो समय कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षबीच छलफल भए पनि सहमति हुन सकेको छैन। देउवा पक्षले आफूहरूले अघि सारेका मागप्रति पार्टी सभापति गगन थापा गम्भीर नभएको आरोप लगाउँदै आएको छ भने संस्थापन पक्षले केही माग कार्यान्वयनमा पार्टी विधान नै बाधक रहेको बताउँदै आएको छ।
