काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्ला विभिन्न सार्वजनिक नियुक्तिमा नेपाली सेनाका पूर्वअधिकारीलाई प्राथमिकता दिएको भन्दै चर्चा सुरु भएको छ।
पछिल्लो पटक सरकारले नेपाली सेनाका पूर्वप्राविधिक उपरथी डा. देवेन्द्र खत्रीलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त गरेको छ। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहको सिफारिसमा भएको उक्त नियुक्तिको पत्र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले हस्तान्तरण गरेका हुन्।
२०७७ पुस १५ गते नेपाली सेनाबाट अवकाश पाएका खत्री हाल नेपाली सेनाको मेडिकल कलेजका कार्यकारी निर्देशक थिए। उपाध्यक्ष नियुक्त भएपछि उनले उक्त पदबाट राजीनामा दिएका छन्।
यसअघि सरकारले नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्यमा पूर्वउपरथी डा. दीपक प्रसाद बाँस्तोलालाई नियुक्त गरेको थियो। तर, उक्त नियुक्तिविरुद्ध परेको रिटमा अदालतले नियुक्ति खारेज गरेको थियो।
त्यस्तै, सरकारले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा नेपाली सेनाका पूर्वमहासेनानी डा. आनन्दसिंह भाटलाई नियुक्त गरेको थियो। उनी २०७६ सालमा नेपाली सेनाबाट अवकाश प्राप्त गरेका अधिकारी हुन्।
पछिल्ला नियुक्तिहरूमा पूर्वसैनिक अधिकारीहरूलाई लगातार जिम्मेवारी दिइएपछि सरकारको नियुक्ति नीतिबारे सार्वजनिक बहससमेत बढ्न थालेको छ।
