काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरण बनाएर अमेरिका लगायतका देशमा पठाइदिने प्रलोभन देखाई रकम असुलेको बहुचर्चित मुद्दाको सुनुवाइ सकिएको छ।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश तेजबहादुर खड्काको इजलासमा गत जेठ २७ गतेदेखि भइरहेको सुनुवाइ आज सम्पन्न भएको हो। सुनुवाइ सकिएसँगै अदालतले आजै फैसला सुनाउने तयारी गरेको छ।
यस प्रकरणमा २०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध तथा राज्यविरुद्धको अपराधसम्बन्धी अभियोगमा मुद्दा दायर गरिएको थियो।
अभियोगपत्रमा संगठित गिरोहले नक्कली कागजात तयार गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने योजना बनाएर विदेश पठाइदिने नाममा ठूलो रकम असुलेको उल्लेख छ।
यस मुद्दामा मुख्य बिचौलिया केशव दुलाल, दीपा हुमागाईं, सानु भण्डारी, सन्देश शर्मा, टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, राजेश अर्याल, विनिता सावदेन लिम्बु, सागर राई, आशिष बुढाथोकी, सुनिल बुढाथोकी, रामशरण केसी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा तथा भुटानी शरणार्थी नेता टेकनाथ रिजालविरुद्ध पनि सोही कसुरमा मुद्दा दायर गरिएको छ।
