• Tuesday 6th of October 2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर १५ जनालाई के–कति सजाय होला ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देश पठाउने नाममा ठगी गरेको बहुचर्चित प्रकरणमा काठमाडौं जिल्ला अदालतले दुई पूर्वमन्त्रीसहित १५ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले फैसला सुनाएको हो। दोषी ठहर भएकाहरूको सजाय निर्धारणका लागि असार २९ गते पेसी तोकिएको छ।

अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ठगी, सङ्गठित अपराध, राज्यविरुद्धको कसुर तथा एकीकृत कसुरमा दोषी ठहर गरेको छ। त्यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई राज्यविरुद्धको कसुरमा मतियार ठहर गरिएको छ।

सरकारी कागजात किर्ते गरेको अभियोगमा टेकनाथ रिजाल, केशवप्रसाद दुलाल र सानु भण्डारी दोषी ठहर भएका छन्।

ठगी तथा सङ्गठित अपराधमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझी दोषी ठहर भएका छन्। बालकृष्ण खाँणलाई भने उक्त कसुरमा मतियार ठहर गरिएको छ।

राज्यविरुद्धको कसुरमा पनि टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, आङटावा शेर्पा, इन्द्रजित राई, सानु भण्डारी, केशवप्रसाद दुलाल, सागर राई, सन्देश शर्मा र गोविन्दकुमार चौधरी दोषी ठहर भएका छन्। बालकृष्ण खाँण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई उक्त कसुरमा मतियार ठहर गरिएको छ।

अदालतले रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई प्रमाण नपुगेको भन्दै सफाइ दिएको छ।

फरार रहेका अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाईं, निरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्बु र सुनिल बुढाथोकीविरुद्धको मुद्दा मुल्तवीमा राखिएको अदालतले जनाएको छ। उनीहरू पक्राउ परेपछि वा अदालतमा उपस्थित भएपछि मुद्दाको सुनुवाइ पुनः अघि बढाइनेछ।

यो फैसला अन्तिम नभएकाले पक्षहरूले उच्च अदालतमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖