• Sunday 4th of October 2026

फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग


  • धनकुटा खबर
  • .

ब्रसेल्स । युरोपेली संसदका केही सांसदहरूले जियानी इन्फान्टिनोको भूमिकामाथि अनुसन्धान गर्न माग गरेका छन्। अमेरिकी खेलाडी फोलारिन बालोगुनको विश्वकप प्रतिबन्ध फुकुवा गर्ने फिफाको निर्णयमा राजनीतिक हस्तक्षेप भएको आशंकापछि यस्तो माग उठाइएको हो।

युरोपेली सांसदहरूको एक समूहले फिफाको निर्णय प्रक्रिया र सम्भावित राजनीतिक प्रभावबारे औपचारिक समीक्षा गर्न युरोपेली फुटबल संघहरूलाई आग्रह गर्दै अभियान सुरु गरेको जनाएको छ।

बालोगुनले जुलाई १ मा बोस्निया एन्ड हर्जगोभिनाविरुद्धको खेलमा रातो कार्ड पाएपछि अर्को खेल गुमाउनुपर्ने अवस्था थियो। तर प्रतिबन्ध हटाइएपछि उनी बेल्जियमविरुद्धको खेल खेल्न योग्य भएका थिए।

फिफाले भने प्रतिबन्ध हटाउने निर्णय आफ्नो अनुशासन समितिले स्वतन्त्र रूपमा गरेको जनाएको छ। यता यूईएफएले उक्त निर्णयलाई “अभूतपूर्व, बुझिनसक्नु र औचित्यहीन” भन्दै आलोचना गरेको छ।

डोनाल्ड ट्रम्पले आफूले बालोगुनको विषयमा फिफासँग पुनर्विचार गर्न आग्रह गरेको स्वीकार गरे पनि कुनै निश्चित निर्णयका लागि दबाब नदिएको दाबी गरेका छन्। उनले अमेरिका र बेल्जियम दुवैले आफ्ना उत्कृष्ट खेलाडी मैदानमा उतार्न पाउनुपर्ने धारणा राखेका थिए। यद्यपि उक्त खेलमा अमेरिका बेल्जियमसँग ४–१ गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

युरोपेली सांसदहरू ब्यारी एन्ड्र्युज, लारा वोल्टर्स र निल्स फुग्लसाङले संयुक्त वक्तव्य जारी गर्दै प्रतियोगिताको बीचमा रातो कार्डसम्बन्धी निर्णय परिवर्तन गर्नु खेलको निष्पक्षतामाथि प्रश्न उठाउने कदम भएको बताएका छन्।

यता इन्फान्टिनोले भने ट्रम्पसँगको संवादमा उक्त विषय फिफाको स्वतन्त्र न्यायिक निकायले हेरिरहेको जानकारी गराएको र फिफाको निर्णय प्रक्रिया स्वतन्त्र रहेको दाबी गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖