काठमाडौं । प्रतिक थापा केन्द्रीय कारागारबाट रिहा भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएपछि उनी पुर्पक्षका लागि थुनाबाट मुक्त भएका हुन्।
केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईंका अनुसार अदालतको फैसलाअनुसार प्रतिक थापालाई रिहा गरिएको हो।
रिहापछि प्रहरीले उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएको थियो। भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उपस्थित गराइए पनि सार्वजनिक पद धारण नगरेको देखिएकाले अख्तियारले उनलाई तारेखमा छाडेर अनुसन्धान अघि बढाउने जनाएको छ।
अख्तियारबाट छुटेपछि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि उपस्थित गराइने भएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको अभियोगमा दायर मुद्दामा प्रतिक थापासहित रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले अदालतबाट सफाइ पाएका छन्।
उक्त प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धानका आधारमा २०८० जेठमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध अभियोग दायर गरेको थियो। मुद्दा दायर गर्दादेखि फरार रहेका सात जना आरोपित भने फैसला हुँदासम्म पनि फरार नै रहेका छन्।
