काठमाडौं, असार २५ — राजु पाण्डेले गोकर्णेश्वर क्षेत्रका बासिन्दाले खानेपानी नपाए मेलम्चीको पानी वितरणमा अवरोध गर्ने चेतावनी दिएका छन्।
संसदको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले खानेपानी वितरणमा कर्मचारीहरूको लापरबाही र अनियमितता असह्य भएको बताए। मेलम्चीको पानी आउने मुख्य क्षेत्रका स्थानीय नै खानेपानीबाट वञ्चित हुनु दुःखद भएको उल्लेख गर्दै उनले समस्या समाधान नभए कडा कदम चाल्ने चेतावनी दिए।
उनले भने, “जनताले खानेपानी नपाउने हो भने त्यहाँको ड्याम बन्द गरिदिन्छौँ। पाइप रोक्नुपर्ने हो कि फुटाउनुपर्ने हो, त्यो म आफैँ फुटाउनेवाला छु। गोकर्णको पानी गोकर्णकै जनताले खान नपाउने र अन्यत्र लैजाने कुरा स्वीकार्य छैन।”
पाण्डेका अनुसार हालै गोकर्णेश्वर पुग्दा पानी नपाएर स्थानीय वृद्धवृद्धा गाग्री बोकेर भौतारिएको अवस्था देखिएको थियो।
उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारीहरूले मनपरी ढंगले पानी वितरण गर्ने गरेको आरोप लगाउँदै वितरण प्रणालीमा ‘नेक्सस’ सक्रिय रहेको दाबी गरे। सांसद भएर पनि समस्या समाधानका लागि धेरै सास्ती खेप्नुपरेको भन्दै उनले सर्वसाधारणको अवस्था झन् कठिन रहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीले “रकेट शैली”मा काम गर्ने प्रतिबद्धता गरे पनि सरकारी संयन्त्र र कर्मचारीतन्त्रका कारण अपेक्षित सुधार हुन नसकेको उनको भनाइ थियो।
साथै, आरुबारीमा निर्माणाधीन २ करोड लिटर क्षमताको खानेपानी ट्यांकीको काम रोकिएको र गोकर्णेश्वर नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका बासिन्दा खानेपानी समस्याबाट प्रभावित रहेको उल्लेख गर्दै उनले सम्बन्धित निकायलाई तत्काल अनुगमन र समस्या समाधान गर्न आग्रह गरे।
नयाँ नेतृत्वप्रति आशा व्यक्त गर्दै उनले सुधार नभए स्थानीय जनतालाई संगठित गरेर सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए।
