• Sunday 4th of October 2026

विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा


  • धनकुटा खबर
  • .

न्युयोर्क । फिफा विश्वकप २०२६ अन्तर्गत पाराग्वेविरुद्धको खेलमा माइकल ओलिसेले पाएको पहेँलो कार्ड उल्टाउने फ्रान्सको प्रयास असफल भएको छ। बायर्न म्युनिखका विङ्गर ओलिसेले फिलाडेल्फियामा भएको तनावपूर्ण प्रिकोार्टरफाइनल खेलको अतिरिक्त समयमा माटियास गालार्सासँग भिड्दा पहेँलो कार्ड पाएका थिए।

उक्त भिडन्तका क्रममा ओलिसेले गालार्साको जर्सी समातेपछि उनी मैदानमा ढलेका थिए। जारी विश्वकपमा पाँचवटा असिस्ट गरिसकेका ओलिसेले बिहीबार हुने क्वार्टरफाइनलमा मोरक्कोविरुद्ध अर्को पहेँलो कार्ड पाएमा सेमिफाइनल खेल गुमाउनेछन्। फ्रान्सले मोरक्कोलाई हराएमा सेमिफाइनलमा स्पेन वा बेल्जियमको सामना गर्नेछ।

फ्रान्सेली टोलीका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्प्सले बुधबार बोस्टन रङ्गशालामा खेलअघि मिडियासँग कुरा गर्दै पहेँलो कार्डमा कुनै परिवर्तन नभएको बताएका छन्। उनले भने, ‘हामीलाई आज बिहान फिफाले जानकारी गराएको छ, त्यो कार्ड यथावत राखिएको छ।’

फिफाले यसअघि अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको रातो कार्ड निलम्बन गर्दै उनलाई बेल्जियमविरुद्धको खेल खेल्न अनुमति दिएको भए पनि ओलिसेको हकमा भने फ्रान्सको अपिल अस्वीकार गरिदियो।

पाराग्वेविरुद्धको खेलमा फ्रान्सका ब्राड्ली बारकोला र मानु कोनेले पनि पहेँलो कार्ड पाएका थिए। अचम्मको कुरा त के छ भने, रेफ्री इल्गिज तान्तासेभले पाराग्वेका कुनै पनि खेलाडीलाई कार्ड देखाएनन्।

खेलका क्रममा पाराग्वेका गुस्ताभो भेलाज्क्वेजले पेनाल्टी स्पट बिगार्ने प्रयास गरेका थिए भने गाब्रियल एभालोसले फ्रान्सेली डिफेन्डर डेयोट उपामेकानोलाई कुहिनोले हानेका थिए। त्यसैगरी एन्ड्रेस कुबासले मिडफिल्डर एड्रियन राबियोटमाथि खराब ट्याकल गरेका थिए। सोही पेनाल्टीलाई किलियन एम्बाप्पेले गोलमा परिणत गर्दै फ्रान्सलाई १–० को जित दिलाएका थिए।

खेलपछि पूर्व इङ्ल्यान्डका गोलकिपर जो हार्टले दक्षिण अमेरिकी टोली पाराग्वेले मैदानमा सिमा नाघेको टिप्पणी गरेका थिए। त्यस्तै बीबीसी स्पोर्ट्सका पण्डित थोमस हिटलस्परगरले यो खेल रेफ्रीको तर्फबाट यस प्रतियोगिताकै सबैभन्दा खराब प्रदर्शन भएको बताए। खेलको विवाद मैदान बाहिर पनि पुग्यो।

खेल सकिएपछि एम्बाप्पेले आफ्नो पृष्ठभूमि र शिक्षालाई लिएर जातीय टिप्पणी गर्ने पाराग्वेकी एक महिला सिनेटरको कडा आलोचना गरे। उनले ती सिनेटरलाई ‘घृणित’ र आफ्नो पदका लागि अयोग्य भएको बताए।

अर्कोतर्फ, फ्रान्ससँग भिड्न लागेको मोरक्को टोलीलाई पनि ठूलो झट्का लागेको छ। सन् २०२२ को विश्वकप सेमिफाइनलमा बेहोरेको हारको बदला लिने दाउमा रहेको मोरक्कोका प्रमुख खेलाडी इस्माएल साइबारी चोटका कारण मैदान बाहिर रहने भएका छन्। साइबारीले समूह चरणका खेलहरूमा ब्राजिल, स्कटल्याण्ड र हाइटीविरुद्ध गोल गरेका थिए भने अन्तिम ३२ को खेलमा नेदरल्याण्ड्सविरुद्ध विजयी पेनाल्टी प्रहार गरेका थिए।

यसै समरमा पीएसभी इन्धोभेनबाट बायर्न म्युनिखमा आबद्ध भएका २५ वर्षीय यी खेलाडी क्यानडाविरुद्धको खेलमा ह्यामस्ट्रिङको समस्याका कारण २२ औं मिनेटमै मैदानबाट बाहिरिनु परेको थियो।

मोरक्कोका प्रशिक्षक मोहम्मद उआहबीले साइबारीको चोटबारे चिन्ता व्यक्त गर्दै उनी खेलका लागि तयार नभएको बताएका छन्। उनले भने, ‘उनी खेल्न तयार छैनन् तर मलाई आशा छ उनको लागि यो प्रतियोगिताको अन्त्य हुने छैन।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖