काठमाडौँ, असार २६ — त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि शुक्रबार माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय दिन माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहप्रति पनि आक्रोश व्यक्त गरेका छन्।
प्रदर्शनमा ‘बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो ?’, ‘राज्य आतंक मुर्दावाद’, ‘हत्यारा सरकार मुर्दावाद’ तथा ‘बालेन तिम्रो झिकै झिकै माया, गणेशको आत्मदाह थियो’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई भक्तपुरमा बस्दै आएका गणेश नेपालीले बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए। गम्भीर जलनका कारण वीर अस्पतालमा उपचाररत उनको शुक्रबार बिहान ११:१९ बजे निधन भएको थियो।
यस घटनाको वास्तविक कारण र जिम्मेवारीबारे प्रहरीको अनुसन्धान जारी रहेको छ। प्रदर्शनकारीहरूले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।
