• Tuesday 6th of October 2026

भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाउने १५९ म्यानपावर कारबाहीमा, ४३४ कम्पनीलाई चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौँ। वैदेशिक रोजगार विभागले अनुमति नलिई भारतका विमानस्थल प्रयोग गरेर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको भन्दै १५९ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई कारबाही गरेको छ।

विभागले माग गरेको विवरण नबुझाएको भन्दै थप ४३४ वटा म्यानपावर कम्पनीलाई पनि पहिलो पटक सचेत गराएको जनाएको छ।

विभागका अनुसार मास ह्युमन रिसोर्स, नुन रिसोर्स, एपेक्स एचआर कन्सल्टेन्सी, टेस्ला ओभरसिज, सुनागुवा इन्टरनेसनल, एलाइड इन्टरनेशनल म्यानपावर, अञ्जली ओभरसिज सर्भिस र ग्रान्ड सुइट जबसहित आठ वटा कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको छ।

विभागले जारी गरेको विज्ञप्तिअनुसार २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका कामदारहरूको उडान विवरण इजाजतप्राप्त म्यानपावर कम्पनीसँग मागिएको थियो। सञ्चालनमा रहेका एक हजार ११७ कम्पनीमध्ये ६७८ वटाले मात्र विवरण बुझाएका थिए।

उक्त विवरणको अध्ययनका क्रममा १५९ वटा कम्पनीले विभागको पूर्वस्वीकृति नलिई विदेशी विमानस्थल प्रयोग गरी श्रमिक पठाएको भेटिएको विभागले जनाएको छ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था छ। सो व्यवस्था उल्लङ्घन गरेको भन्दै ती १५९ कम्पनीलाई ऐनको दफा ५४ अनुसार पहिलो पटक सचेत गराइएको विभागले जनाएको छ।

यस्तै, विभागले माग गरेको विवरण नबुझाउने ४३४ कम्पनीले ऐनको दफा ३७ उल्लङ्घन गरेको ठहर गर्दै उनीहरूलाई पनि पहिलो पटक चेतावनी दिँदै आवश्यक विवरण तत्काल पेस गर्न निर्देशन दिएको छ।

उता, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले भने विभागको कारबाही प्रक्रिया तत्काल पुनरावलोकन गर्न माग गरेको छ। सङ्घले सरोकारवालासँग समन्वय गरी न्यायोचित समाधान खोज्नुपर्नेमा जोड दिँदै एकपक्षीय तथा व्यवसायमैत्री वातावरण विपरीतका निर्णयले व्यवसायसँगै नेपाली श्रमिकसमेत प्रत्यक्ष प्रभावित हुने चेतावनी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖