काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले सोमबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भू-भाग नजिक रहेकाले मुलुकभर मौसम बदली भएको छ।
हाल देशका अधिकांश क्षेत्रमा बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि पानी परिरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने अनुमान छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा पनि यस्तै मौसम रहने अनुमान गरिएको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा नदी–नालामा पानीको सतह बढ्न सक्ने जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
