काठमाडौँ। प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह र पार्टी सभापति रवि लामिछानेबीच भएको पछिल्लो छलफलमा केही मन्त्रीहरूको कार्यसम्पादन तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भूमिकाबारे समीक्षा भएको दाबी गरिएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री शाह अर्थमन्त्री वाग्लेको कार्यशैलीप्रति असन्तुष्ट छन्। सेयर बजारको अवस्था, वैदेशिक ऋणमा बढी निर्भरता तथा अर्थतन्त्रमा अपेक्षित उत्साह ल्याउन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेको दाबी गरिएको छ।
त्यस्तै, धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्टको नियुक्तिलाई लिएर पनि प्रधानमन्त्री पक्षबाट प्रश्न उठाइएको स्रोतको भनाइ छ। नियुक्तिले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सिर्जना गरेको आरोपसमेत लगाइएको दाबी गरिएको छ। यद्यपि यसबारे सम्बन्धित पक्षबाट आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
स्रोतका अनुसार रास्वपा सभापति लामिछानेले पनि केही मन्त्रीहरूको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन्। स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, महिला, बालबालिका मन्त्री सीता बादी, पर्यटनमन्त्री खड्कराज पौडेल तथा कृषिमन्त्री गीता चौधरीको कार्यसम्पादनबारे उनले प्रश्न उठाएको दाबी गरिएको छ।
प्रधानमन्त्री निकट पक्षले अर्थमन्त्रीमाथि प्रश्न उठाएपछि लामिछानेले पनि प्रधानमन्त्री निकट मानिने केही मन्त्रीहरूको कामबारे समीक्षा आवश्यक रहेको धारणा राखेको स्रोतको भनाइ छ।
यस्तै, प्रधानमन्त्रीबाट मन्त्रालयहरूको काममा अनावश्यक हस्तक्षेप बढेको गुनासो पनि छलफलमा उठेको दाबी गरिएको छ।
यसअघि असार २४ गते प्रधानमन्त्री शाहले उद्योगी–व्यवसायीका प्रतिनिधिसँग गरेको छलफलमा अर्थमन्त्री वाग्ले सहभागी नभएपछि प्रधानमन्त्री र अर्थमन्त्रीबीच सम्बन्ध असहज बनेको चर्चा भएको थियो। त्यसपछि सभापति लामिछानेले दुवै पक्षबीच समन्वय गर्ने प्रयास गरेको स्रोतको दाबी छ।
छलफलमा कार्यसम्पादनका आधारमा केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने विषयमा प्रारम्भिक छलफल भएको बताइए पनि प्रधानमन्त्रीको सचिवालयले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नरहेको जनाएको छ।
