काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार जारी विज्ञप्तिमा पार्टीले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रताविपरीत रहेको उल्लेख गरेको छ।
रास्वपाले राज्यको चौथो अंगका रूपमा रहेका सञ्चारमाध्यम र पत्रकारले निर्भीक रूपमा आफ्नो पेशागत दायित्व निर्वाह गर्न पाउने वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ। कुनै पनि बहानामा प्रेस स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा स्वतन्त्र पत्रकारितालाई संकुचित पार्ने गतिविधि स्वीकार्य नहुने पार्टीको भनाइ छ।
विज्ञप्तिमा स्वतन्त्र र भयरहित पत्रकारिता लोकतन्त्रको आधार भएकाले प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यका यस्ता गतिविधिको भर्त्सना गरिएको छ।
रास्वपाले घटनाको तत्काल निष्पक्ष र सत्यतथ्य छानबिन गरी सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न, घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ।
साथै पार्टीले सञ्चारकर्मीलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गरेको छ।

