काठमाडौँ। पछिल्लो एक हप्तामा आत्मदाहको प्रयास गरेका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ। वीर अस्पतालमा दुई जना र कीर्तिपुरस्थित बर्न अस्पतालमा एक जनाको निधन भएको हो।
मृत्यु हुनेमा काठमाडौंको बुद्धनगरका ४५ वर्षीय आश्विन राउत, मुगुका गणेश नेपाली र सर्लाहीका विवेक यादव रहेका छन्। राउत र गणेश नेपालीको वीर अस्पतालमा तथा विवेक यादवको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
आश्विन राउतले आफ्नै घरको भान्साकोठामा आत्मदाहको प्रयास गरेका थिए। उनलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्याएको थियो। शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेका राउतको सघन उपचारका क्रममा गत शनिबार निधन भएको थियो।
यस्तै, गणेश नेपालीले गत बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। घटनापछि उनलाई उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भयो।
सर्लाहीका विवेक यादवले पनि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार सोमबार राति करिब २ बजे उपचारकै क्रममा उनको निधन भएको हो।
