• Tuesday 6th of October 2026

नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय


  • धनकुटा खबर
  • .

काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गर्दै दुई वर्ष छ महिना कैद, करोडौं रुपैयाँ जरिवाना तथा सम्पत्ति जफत गर्ने फैसला गरेको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिलीरत्न श्रेष्ठको इजलासले पौडेललाई दुई वर्ष कैद सजाय सुनाएको हो। सार्वजनिक पदमा रहेको व्यक्तिले अपराध गरेको ठहर गर्दै थप छ महिना कैद थपिएपछि उनले कुल दुई वर्ष छ महिना कैद भोग्नुपर्ने भएको छ।

अदालतले पौडेलले गैरकानुनी रूपमा आर्जन गरेको ठहरिएको १२ करोड ७५ लाख ७० हजार २३७ रुपैयाँ ४३ पैसा बराबरको सम्पत्ति जफत गर्ने आदेश दिएको छ। सोही रकम बराबरको जरिवाना पनि उनीबाट असुल गरिनेछ। साथै, अपराध पीडित संरक्षण ऐनअनुसार ५१ लाख २ हजार ८०९ रुपैयाँ ४९ पैसा क्षतिपूर्ति शुल्कसमेत तिर्नुपर्ने फैसला भएको छ।

यस मुद्दामा पौडेलका भाइ अनिल पौडेललाई पनि प्रतिवादी बनाइएको थियो। तर, उनको नाममा रहेका केही सम्पत्ति ऋण तथा अंशबण्डाबाट प्राप्त भएको देखिएको र ती सम्पत्तिमा सुनिल पौडेलको अवैध आम्दानी प्रयोग भएको पुष्टि हुने पर्याप्त आधार नपुगेको भन्दै अदालतले अनिल पौडेलका नाममा रहेका जग्गाजमिन जफत नगर्न आदेश दिएको छ।

विशेष अदालतको संक्षिप्त फैसलाअनुसार सुनिल पौडेलको वैध आम्दानी २ करोड २१ लाख ५७ हजार ८० रुपैयाँ ९४ पैसा मात्र देखिएको छ। तर, सोही अवधिमा उनको खर्च तथा लगानी १४ करोड ९७ लाख २७ हजार ३१८ रुपैयाँ ३८ पैसा पुगेको पाइएको छ। वैध आम्दानी र कुल खर्चबीचको १२ करोड ७५ लाख ७० हजार २३७ रुपैयाँ ४३ पैसाको स्रोत पुष्टि हुन नसकेपछि अदालतले उक्त रकमलाई गैरकानुनी सम्पत्ति ठहर गरेको हो।

फैसलामा पौडेलको सिंगापुरस्थित बैंक खातामा १ लाख ३५ हजार ३८२ अमेरिकी डलर रहेको तथ्यलाई पनि प्रमाणका रूपमा उल्लेख गरिएको छ। उक्त खाता आफ्नो नभएको पौडेलको दाबीलाई अदालतले फरेन्सिक परीक्षण तथा अन्य प्रमाणका आधारमा अस्वीकार गरेको छ। साथै, विदेश भ्रमणमा भएको खर्च र विभिन्न लगानीको वैधानिक स्रोतसमेत खुल्न नसकेको अदालतको निष्कर्ष छ।

उल्लेखनीय छ, सुनिल पौडेल यसअघि पेमेन्ट गेटवे भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भइसकेका छन्। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖