• Thursday 8th of October 2026

एमाले मधेश प्रदेशमा विवाद बढ्याे, अध्यक्ष भन्छन्-असन्तुष्टी सम्बाेधन गरिने छ


  • धनकुटा खबर
  • .

महोत्तरी। नेकपा एमाले मधेश प्रदेश अधिवेशनको बैधतामाथि प्रश्न नै प्रश्न उठन थालेकाे छ। गत असोज २५ र २६ गते भएको अधिवेशनलाई लिएर पाटीभित्रैका जिम्मेवार नेताहरुले विधि र प्रक्रियाको विषयमा प्रश्न उठाएका हुन्।

घोषणापत्र तयार गरेर गुपचुप राखेको, अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिववाहेक अन्य सदस्यहरुमा आफूखुसी गरेको जस्ता आरोप अहिले सतहमा देखिएपछि साे अधिवेसनकाे बैधानिकतामाथि प्रश्न उठाइएकाे हाे। जिम्मेवार नेता र सदस्यहरुले बैधतामाथि प्रश्न उठाएपछि मधेशमा एमालेभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ।

`न प्रतिवेदन प्रस्तुत गरिएको छ, न आन्तरिक छलफलमा नेताहरुलाई सहभागी गराइएको छ,´ एक जना पुर्व मधेश प्रदेश कमिटी सदस्यले भने, `सबैजनालाई घर पठाई केही नेताहरु बसेर सदस्यहरु टुंग्याए रे भन्ने सुन्ने अवस्था देखा परेकाे छ।’

पाटीभित्रका इमान्दार र जिम्मेवार नेताहरुलाई पाखा लगाई शिर्ष नेताहरुको नजिक र चाप्लुसी गर्नेलाई मात्रै कमिटीमा ल्याएको प्रदेशस्तरीय नेताहरुको आरोप छ। `यसले पार्टीलाई बलियो बनाउनुको सट्टा थप कमजोर वनाउन सक्छ,´ अर्का नेताले भने, ‘पाटीमा कुनै योगदान नै नभएकाहरुलाई सर्वसम्मतको नाम दिएर आफूखुसी गर्नुलाई कसरी मान्नु र?´

तर अधिवेशनका मुख्य निर्वाचन अधिकृत टिकाध्वज खडकाले पार्टीको विधि र प्रक्रियाअनुसार नै अधिबेशन सम्पन्न भएको दावी गरेका छन्। `अब नेताहरु धेरै भएको पार्टीमा त्यो खाल्को केही असन्तुष्टिहरु आउनु स्वभाविक पनि हो,´ निर्वाचन अधिकृत खड्काले भने, `मनोनितको नाम बाहेक पार्टीबाट सर्वसम्मत भएका सवैजनाको नाम टाँस गरिएको छ।´

उनका अनुसार अहिले ५ जना पदाधिकारीसहित २३५ जना सदस्यलाई सर्वसम्मत निर्वाचित गरिएकाे छ। तर, ५ जना पदाधिकारी वाहेक सदस्यहरुमा सर्वसम्मत नभएको असन्तुष्ट नेताहरुको जिकिर छ।

`बरु हामी निर्वाचन प्रणालीबाट गएको भए मान्थ्यौं तर नेताहरुका नजिक भएका आधारमा मुल्यांकन गर्नु त्यो गलत भयो, पार्टीका अर्का पूर्व मधेश प्रदेश कमिटी सदस्यले भने, `पार्टीका लागि नै रगत पसिना भिजाएका साथीहरुको लागि अन्याय भएको छ।´

नवनिर्वाचित प्रदेश अध्यक्ष चण्डेश्वर मण्डलले भने एमालेभित्र देखिएको असन्तुष्टिलाई छिट्टै समाधान गर्ने बताएका छन्। अधिवेशनमा सदस्य नाम छान्ने क्रममा पनि प्रत्येक जिल्लाका प्रतिनिधिहरुसँग छुट्टाछुट्टै बैठक बसेर सर्वसम्मतमा नै टुंग्याएको बताउँदै अध्यक्ष मण्डलले छुटेका साथीहरुलाई १० प्रतिशतमा समेट्ने बताए।

`विधानअनुसार १० प्रतिशत मनोनित गर्न पाउने व्यवस्था छ,´ उनले भने, `यसबाट पनि केही असन्तुष्टीहरु समाप्त हुनेछन्। उनका अनुसार पाटीले अगाडी सारेको मिसन २०८४ अभियानबाट विचलित नहुने र उदेश्य प्राप्ति गरेर नै छाड्ने म्यान्डेट पाएकाले अबकाे ध्यान त्यतै लगिनेछ।

उता, पूर्व उपाध्यक्ष रेवती पन्तले विधि र प्रक्रियाअनुसार नै अधिबेशन भएको वताउदै केही त्रुटी भएको हुनसक्ने बताए। `अब बिस्तारै असन्तुष्टि सेलाएर जान्छ अनि पार्टी पुन: चलायमान हुनेछ´ उनले भने। पूर्व उपाध्यक्ष समेत रहेका पन्त अध्यक्षको दौडमा थिए। अख्तियारले एक प्रतिष्ठानमा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेपछि अध्यक्षको दौडबाट उनी पछाडि हट्न बाध्य भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖