काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार देशका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारण तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। यस्तै, मधेश, बागमती तथा अन्य हिमाली र पहाडी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
प्राधिकरणका अनुसार लगातारको वर्षासँगै आकस्मिक बाढी, पहिरो, भू–क्षय, डुबान तथा गेग्रान बहावको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा विशेष गरी रात्रिकालीन यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।
जोखिमको अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ अति जोखिमयुक्त जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ। रोक लगाइएका जिल्लामा पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन्। आवश्यकता अनुसार जुनसुकै समयमा थप क्षेत्रमा पनि सवारी आवागमन रोक्न सकिने प्राधिकरणले जनाएको छ।
विपद् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। सम्भावित सडक अवरोध तत्काल हटाउन जोखिमयुक्त राजमार्गमा डोजर, एक्साभेटर, लोडरलगायतका हेभी उपकरण तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ।
यस्तै, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा नदी किनार र पहिरोको उच्च जोखिम भएका बस्तीका नागरिकलाई विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।
आपत्कालीन अवस्थामा वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि **११५५**, विपद् सहायता **१२३४**, नेपाल प्रहरी **१००** र सशस्त्र प्रहरी बल **१११४** नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ। साथै, मौसमसम्बन्धी अद्यावधिक सूचना तथा चेतावनीका लागि आधिकारिक माध्यम नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ।
