न्युयोर्क । फ्रान्सका स्टार स्ट्राइकर किलियान एम्बाप्पे विश्वकप इतिहासमा दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन्।
सन् २०२६ को विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै उनले यो प्रतिष्ठित पुरस्कार आफ्नो नाममा पारेका हुन्।
कडा प्रतिस्पर्धाबिच लियोनल मेस्सीलाई पछाडि पार्दै एम्बाप्पेले आठ खेलमा १० गोल गरे। सन् २०२२ को कतार विश्वकपमा आठ गोल गर्दै गोल्डेन बुट जितेका २७ वर्षीय एम्बाप्पेले लगातार दुई वटा विश्वकपमा यो सफलता हात पारेका हुन्।
एकै विश्वकपमा दोहोरो अङ्कमा गोल पुर्याउने एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गेर्ड मुलरपछिका पहिलो खेलाडी हुन्। विश्वकपको एउटै संस्करणमा एम्बाप्पेभन्दा बढी गोल गर्ने खेलाडीमा सन् १९५८ मा फ्रान्सका जुस्ट फोन्टेन (१३ गोल) र सन् १९५४ मा हङ्गेरीका सान्डोर कोक्सिस (११ गोल) मात्र रहेका छन्।
यसका साथै एम्बाप्पे पुरुष विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्तासमेत बनेका छन्। विश्वकपमा कुल २२ गोल पुर्याउँदै उनले मेसीको २१ गोलको कीर्तिमानलाई एक गोलले पछाडि पारेका छन्।
