• Monday 5th of October 2026

समर्थकलाई दशैंको कोशेली दिन पाउँदा खुसी छौंः मनिष


  • धनकुटा खबर
  • .

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको दोस्रो लेगमा लाओसविरुद्ध निर्णायक गोल गर्दै नेपाललाई दोस्रो चरणमा पुर्याएका मनिष डाँगीले प्राप्त जित नेपाली समर्थकलाई दशैंको कोशेली रहेको प्रतिक्रिया दिएका छन् ।

पोस्ट म्याच कन्फरेन्समा बोल्दै मनिषले लाओसविरुद्धको जित नेपाली समर्थकलाई कोशेलीका रुपमा रहेको बताएका हुन् । ‘यो जित नेपाली समर्थकका लागि दशैंको कोशेली हो । हामी नेपाली समर्थकलाई कोशेली दिन पाउँदा निक्कै खुसी छौँ, ’ मनिषले भने ।

लाओसको घरेलु मैदान न्यु लावस रंगशालामा मंगलबार भएको खेलमा मनिषले ५३ औं मिनेटमा अञ्जन विष्टको पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरेका थिए । मनिषको निर्णायक गोलमा नेपालले समग्रमा २–१ को जित निकाल्यो । गत साता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।

त्यस्तै पोस्ट म्याच कन्फरेन्समा मनिषले जितको प्रमुख कारण प्रशिक्षक भिन्सेन्जो एल्बर्टो एनेस रहेको बताए । ‘पर्दा पछाडि प्रशिक्षकको भुमिका एकदमै अहम रह्यो । खेलाडीले प्रशिक्षकलाई विश्वास गरे । हामीलाई थाहा थियो, प्रशिक्षकको रणनीति अनुसार खेल्यौं भने नतिजा हाम्रो पक्षमा ल्याउन सक्छौं भनेर । यो जित म प्रशिक्षकलाई समर्पित गर्न चाहन्छु,’ मनिषले भने,‘अब हामी दशैंमा रमाउनेछौं । लगत्तै नोभेम्बरमा हुने दोस्रो चरणको पहिलो दुई खेलका लागि तयारीमा लाग्नेछौं ।’

नेपालले नोभेम्बर १६ मा घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स(युएई)सँग खेल्दै दोस्रो चरणको यात्रा सुरु गर्नेछ । नेपाल रहेको समूह ‘एच’मा युएईसँगै यमन र बहराइन छन् । यमनले पहिलो चरणमा श्रीलंकालाई समग्रमा ४–१ ले पाखा लगाएको थियो । युएई र बहराइन भने फिफा वरियताका आधारमा सोझै दोस्रो चरणमा छनोट भएका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖