• Sunday 4th of October 2026

फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्


  • धनकुटा खबर
  • .

काठमाडौँ । अमेरिका, मेक्सिको र क्यानडामा सम्पन्न सन् २०२६ को विश्वकप फुटबलको ‘टिम अफ दि टुर्नामेन्ट’ फिफाले सार्वजनिक गरेको छ।

न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराउँदै स्पेनले इतिहासमा दोस्रो पटक उपाधि जितेको थियो।

फिफाले सार्वजनिक गरेको विश्वकपको उत्कृष्ट ११ को सूचीमा स्पेन र फ्रान्सका तीन-तीन, अर्जेन्टिनाका दुई तथा इंग्ल्यान्ड, नर्वे र पहिलो पटक विश्वकप खेलेको केप भर्डेका एक-एक खेलाडी परेका छन्। स्पेनका तर्फबाट राइट-ब्याक पेड्रो पोरो, लेफ्ट-ब्याक मार्क कुकुरेला र मिडफिल्डर रोड्री टोलीमा समावेश छन्।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्दै रोड्रीले गोल्डेन बलसमेत जितेका थिए। रोड्रीको छनोट स्वाभाविक भए पनि फिफाका अन्य निर्णयले भने धेरैलाई आश्चर्यमा पारेको छ।

प्रतियोगिताकै उत्कृष्ट रक्षापङ्क्ति साबित भए पनि स्पेनका सेन्टर-ब्याकद्वय पाउ कुबार्सी र एमरिक लापोर्टे उत्कृष्ट ११ मा पर्न सकेनन्। सात खेलमा क्लिन सिट राख्दै प्रतियोगिताभर जम्मा एक गोल खाएर गोल्डेन ग्लोभ जितेका गोलकिपर उनाई सिमोन पनि टोलीमा नपर्नुलाई आश्चर्यका रूपमा हेरिएको छ।

उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका कुबार्सीले प्रतियोगितामा रोड्रीपछि सबैभन्दा धेरै ६६८ पास खेलेका थिए भने लापोर्टेले ६१८ पास पूरा गरेका थिए। उनीहरूकै उत्कृष्ट तालमेलका कारण स्पेनले प्रतियोगितामा सबैभन्दा कम गोल खाएको थियो। तर, फिफाले सेन्टर-ब्याकमा स्पेनका खेलाडीको सट्टा फ्रान्सका डायोट उपामेकानो र अर्जेन्टिनाका लिसान्ड्रो मार्टिनेजलाई छानेको छ।

गोलकिपरमा गोल्डेन ग्लोभ विजेता सिमोनको सट्टा फिफाले केप भर्डेका अनुभवी गोलकिपर भोजिन्हालाई स्थान दिएको छ। अफ्रिकी राष्ट्र केप भर्डेलाई ऐतिहासिक रूपमा अन्तिम ३२ सम्म पुर्‍याउन उत्कृष्ट प्रदर्शन गरेका उनी प्रतियोगिताकै उदाउँदा स्टार बनेका थिए।

अन्य पोजिसनको छनोटमा भने खासै आश्चर्य देखिएन। प्रतियोगिताका दुई ठूला स्टार लियोनेल मेस्सी र किलियन एम्बाप्पेले अग्रपङ्क्ति सम्हालेका छन्। १० गोल र चार असिस्टसहित एम्बाप्पेले गोल्डेन बुट जितेका थिए भने आठ गोल र चार असिस्ट गर्दै मेस्सीले अर्जेन्टिनालाई लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुर्‍याएका थिए।

अग्रपङ्क्तिमा यी दुईसँगै नर्वेका स्ट्राइकर एर्लिङ हालान्ड छन्। उनले सात गोल गर्दै आफ्नो देशलाई इतिहासमै पहिलो पटक नकआउट चरणमा पुर्‍याएका थिए। अन्तिम ३२ मा नर्वेले ब्राजिलमाथि निकालेको ऐतिहासिक जितमा उनको महत्त्वपूर्ण भूमिका थियो। मिडफिल्डमा रोड्रीलाई फ्रान्सका माइकल ओलिस र इंग्ल्यान्डका जुड बेलिङ्घमले साथ दिएका छन्।

फिफाले सार्वजनिक गरेको २०२६ विश्वकपको उत्कृष्ट टिमको गोलकिपरमा केप भर्डेका भोजिन्हा रहेका छन्। डिफेन्डरमा स्पेनका पेड्रो पोरो र मार्क कुकुरेला, फ्रान्सका डायोट उपामेकानो तथा अर्जेन्टिनाका लिसान्ड्रो मार्टिनेज अटाएका छन्।

यसैगरी मिडफिल्डरमा इंग्ल्यान्डका जुड बेलिङ्घम, स्पेनका रोड्री र फ्रान्सका माइकल ओलिस छनोट हुँदा फरवार्डमा अर्जेन्टिनाका लियोनेल मेस्सी, फ्रान्सका किलियन एम्बाप्पे र नर्वेका एर्लिङ हालान्ड परेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖