काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ले प्रधानमन्त्री बालेन्द्र शाह लाई अनुभवी राजनीतिक नेतृत्व र बुद्धिजीवीहरूसँग संवाद गर्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रचण्डले प्रधानमन्त्रीको कार्यशैली तथा प्रतिपक्षप्रतिको दृष्टिकोणप्रति टिप्पणी गर्दै देशका जटिल समस्याको समाधानमा अनुभवी नेतृत्वको अनुभव उपयोग गर्नुपर्ने बताए।
उनले नेपालमा विगतका कठिन राजनीतिक परिस्थितिको सामना गरी समाधान खोजेका नेता तथा बुद्धिजीवीहरूको ठूलो समूह रहेको उल्लेख गर्दै उनीहरूसँग संवाद गर्न सरकार अग्रसर हुनुपर्ने धारणा राखे।
“हामीसँग अनुभव भएका नेता र बुद्धिजीवीहरू हुनुहुन्छ। उहाँहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई के कुराले रोकेको छ ? कतै उहाँभित्रको अहंकारले त संवाद रोकिएको होइन ? नेतृत्वले दम्भ पालेर मुलुक चल्दैन,” प्रचण्डले भने।
भ्रष्टाचार नियन्त्रणको प्रसंग उठाउँदै उनले प्रधानमन्त्रीले पुराना नेताहरूसँग प्रश्न गर्न सक्ने भए पनि संवाद नै नगर्नु उचित नभएको बताए।
“उहाँले हामीलाई पनि ‘तपाईंहरूले भ्रष्टाचारविरुद्ध काम गर्छु भन्नुभएको थियो, के कुराले रोक्यो ?’ भनेर सोध्न सक्नुहुन्थ्यो। हामी जवाफ दिन तयार थियौँ। तर संवादबाटै टाढा रहने प्रवृत्ति देखिएको छ,” उनले भने।
प्रचण्डले नेपाली कांग्रेस, नेकपा एमाले र आफ्नो पार्टीमा राजनीतिक संघर्षको अनुभव भएका नेताहरू रहेको उल्लेख गर्दै प्रतिपक्षलाई बेवास्ता गरेर अघि बढ्दा मुलुक थप जटिलतामा फस्न सक्ने चेतावनी दिए।
उनले सरकारलाई प्रतिपक्षसँग संवाद र सहकार्यको वातावरण बनाउन आग्रह गर्दै त्यसले राष्ट्रिय सहमति र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने धारणा व्यक्त गरे।
